शुक्रबार, कार्तिक ७ गते २०८३

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको तयारी पुरा, ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ मुख्य नारा


आषाढ ४, २०८३ बिहीबार
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको तयारी पुरा,  ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ मुख्य नारा


राष्ट्रिय सहकारी महासंघले यही असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेनमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको तयारी पुरा भएको जनाएको छ । महासंघले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको छ । महासंघका कार्यवहाक अध्यक्ष रमेश प्रसाद पोखरेलले ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’  भन्ने मूल नाराका साथ  सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।

महासंघले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, तथा सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागेको उनको भनाई छ । संयुक्त राष्ट्रसंघले सन २०२६ लाई अन्तर्राष्ट्रिय कृषक महिला वर्ष  घोषणा गरेको पृष्ठभूमिमा यो सम्मेलन झनै सान्दर्भिक बन्ने महासंधको अपेक्षा ठहर छ । नेपालमा ग्रामीण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी महिलाहरू कृषि कार्यमा प्रत्यक्ष संलग्न छन् । नेपालमा सञ्चालनमा रहेका ३२ हजारभन्दा बढी सहकारी संस्थाहरुमा करिब ५६ प्रतिशत महिलाको सक्रिय सहभागिता रहेको छ । विशेषगरी कृषि सहकारीमा महिलाको नेतृत्व र योगदान उल्लेखनीय रहेको छ ।

महिलाहरुले साना साना बचत समूहहरूमा सहभागी हुँदै ठुला र सु‌द्ध सहकारी निर्माण गर्न महत्वपूर्ण भूमिका अनुशासित वित्तीय व्यवस्थापन तथा ऋणी उत्पादनमुखी  उपयोगमा उनीहरुको भूमिका उदाहरणीय महासंघको ठहर छ  । यसैगरी कृषि, पशुपालन, साना तथा घरेलु उद्योग, हस्तकला तथा खुद्रा व्यापार जस्ता क्षेत्रमा महिलाहरुले सहकारी मार्फत लगानी तथा उद्यम सञ्चालन गरी ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेलेको महासंघले जनाएको छ। सहकारी संस्थाहरुमा नेतृत्व तहमा समेत महिलाको सहभागिता बढ्दै गएको छ। यसले संस्थागत सुशासन तथा नीति निर्माण तथा निर्णय प्रक्रियामा महिलाको प्रतिनिधित्व सुदृढ बनाएको  महासंघको विश्वास छ । ग्रामीण अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेको सहकारी क्षेत्रले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ ।  

बचत तथा ऋण सेवा मार्फत आर्थिक सशक्तीकरण तथा आर्थिक पहुँच वृद्धि गर्नुका साथै महिला लक्षित उद्यमशीलता विकास तथा ग्रामीण स्तरमा रोजगारी सिर्जना गरेको महासंघले जनाएको छ । सहकारीले आत्मनिर्भरता, आत्मविश्वास तथा स्वाभिमान अभिवृद्धि गर्नमा ठूलो टेवा पुऱ्याएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी महिला सहकारीकर्मीहरुको नेतृत्व विकास गरेर निर्णय प्रक्रियामा सहभागिता विस्तार गर्नमा अहम् भूमिका खेलेको सहकारीले सामाजिक चेतना, अधिकार तथा स्वास्थ्य शिक्षाको प्रवर्द्धन गर्ने कार्यमा योगदान खेलेको  का.वा.अध्यक्ष पोखरेलले बताए  । साथै  महिलाहरुलाई  पारिवारिक तथा सामुदायिक निर्णय प्रक्रियामा सक्रिय सहभागी बनाउँदै आएको उनले बताए । 


सम्मेलनले महिला किसान तथा सहकारीकर्मीको योगदानलाई उजागर गर्ने, लैंगिक उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ पार्ने, महिला नेतृत्व विकास र संस्थागत सहभागिता वृद्धि गर्ने, तथा अन्तर्राष्ट्रिय असस अभ्यासहरुको आदान प्रदान गर्ने मुख्य उद्देश्य लिएको छ । यसैगरी, उद्यमशीलता, रोजगारी, बजार पहुँच विस्तार, नीति संवाद र वकालतलाई प्रोत्साहन गर्ने, तथा अन्तर्राष्ट्रिय सहकार्य र नेटवर्किङ विस्तार गर्ने सम्मेलनको उदेश्य  रहेका छन् । सम्मेलनका क्रममा नीति संवाद तथा कार्यपत्र प्रस्तुति, महिला सहकारीबाट उत्पादित वस्तुको प्रदर्शनी, अन्तर्राष्ट्रिय सहभागीहरूको लागि सहकारी अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम प्रदर्शन तथा विश्व सम्पदा अवलोकन, र ऐच्छिक हिमाली दृश्यावलोकन लगायतका विशेष कार्यक्रमहरु समेत आयोजना गरिनेछ । यी कार्यक्रमहरुले सहकारी क्षेत्रका महिलाको सीप, उत्पादन, र नेतृत्व क्षमतालाई स्वदेशमा मात्र नभएर विश्वस्तरमा समेत व्यापक रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा भए गरेका महिला सहकारीकर्मीको क्रियाकलाप तथा सफलताका कथा तथा नेपाली महिला सहकारीकर्मीको कथाका साथै अनुभव प्रत्यक्ष रूपमा साटासाट गर्ने  समेत कार्यक्रम रहेको छ । जसबाट एक अर्को  मुलुकको असल अभ्यास तथा सिकाईको अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ । 
महासंघले भूमि व्यवत्त्वयापन, सहकारी तथा संघीय मामिला  तथा सामान्यमन्त्रालयसंग सहकार्य गरेर आयोजना गर्न लागेको यस सम्मेलनमा एफएको नेपाल र हेफर इन्टरनेशन सह आयोजकको रूपमा रहेका छन् । त्यसै गरी बैंकिङ्ग पार्टनरको रूपमा राष्ट्रिय सहकारी बैंक, कृषि विकास बैंक, साना किसान विकास लुधवित्त संस्था, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंक रहेका छन् ।

इन्स्योरेन्स पार्टनरको रूपमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ । को अपरेटिभ पार्टनरको रूपमा किसान बहुउद्देश्यीय सहकारी संस्था लि., कैलाली, अष्ट्रम साना किसान कृषि सहकारी संस्था लि., वाके, जिल्ला सहकारी संघ लि., चितवन, सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि., काठमाडौं, मेची बहुद्देश्यीय सहकारी संस्था लि., झापा, वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि., सुर्खेत, प‌द्मावती बचत तथा ऋण सहकारी संस्था लि., ललितपुर, बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर, पारिजात बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर, विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लि., काठमाडौ र नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासी रहेका छन् ।

त्यस्तै मिडिया पार्टनरको रूपमा सहकारी पत्रकार समाज, इन्याब्लर पार्टनरको रूपमा आर एण्ड डि सलुसन रहेका  छन् । सम्मेलनमा सातै प्रदेशबाट विषयगत केन्द्रीय संघ, प्रदेश जिल्लास्तरीय सहकारी संघहरु र विभिन्न प्रारम्भिक सहकारी संस्थाहरूका २ सय ५०  भन्दा बढी महिला पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहने छ । त्यसैगरी भारत, भुटान थाइलेण्ड, श्रीलंका लगायतका मुलुकबाट महिला सहकारी अभियन्ता तथा विद्वानहरुको सहभागिता रहने र को अपरेटिभ कन्ट लेन्डस्केप प्रस्तुत गर्ने समेत कार्यक्रम रहेको उनले जानकारी दिए ।

काठमाडौं घोषणापत्र २०२६ जारी गर्दै सम्पन्न हुने यस सम्मेलनले सहकारीमार्फत महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता तथा सामाजिक समावेशीकरणमा महत्वपूर्ण योगदान पुऱ्याउने आशा राखिएको उनको भनाई छ । साथै महिला नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै दिगो कृषि प्रणाली, लैंगिक समानता तथा सहकारी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। यस सम्मेलनले अन्तर्राष्ट्रिय महिला किसान वर्ष २०२६ को उद्देश्यलाई सार्थक बनाउदै नेपाललाई अन्तर्राष्ट्रिय सहकारी संवाद तथा महिला नेतृत्व विकासको महत्वपूर्ण केन्द्रका रुपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

 महासंघ नेपाल सरकार, सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकाय, सहकारी संघ संस्थाहरू, महिला उद्यमी, नीति निर्माता र सञ्चारकर्मीलाई  यस  सम्मेलनमा उपस्थित भई महिला नेतृत्व र सहकारी समृद्धिको यात्रामा सहभागी हुन  पोखरेलको आग्रह छ । पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष खेमबहादुर पाठक र इन्दिरा पन्त, सञ्चालक सुमन नेपाल र  महाप्रबन्धक डा.बाबुकाजी थापाको उपस्थिति रहेको थियो ।