शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारीको दिगोपनाका लागि उत्पादन र बजारीकरणमा जान आवश्यक


जेठ २९, २०८३ शुक्रबार
सहकारीको दिगोपनाका लागि उत्पादन र बजारीकरणमा  जान आवश्यक

सहकारी क्षेत्रको दिगो विकासको लागि उत्पादन र बजारीकरणमा जानुपर्ने  जानकारहरुले बताएका छन् । बचत तथा ऋणको कारोबारले मात्र सहकारी क्षेत्रको दिगो विकास नहुने  भएकाले सहकारीको पुँजीलाई उत्पादनमा  लगाउनु पर्नेमा  उनीहरुको जोड छ । ललितपुर महानगरपालिकासँगको वित्तीय साझेदारीमा जिल्ला सहकारी संघ ललितपुरले  ‘सहकारीलाई उत्पादनसँग जोड्ने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम’ आयोजना गरेको छ । 

संघका  अध्यक्ष जगतलाल महर्जनले ‘सहकारीहरुको साखमा आएको विचलन चिर्न पनि उत्पादनमा जानुपर्ने बाध्यता रहेको बताए । अध्यक्ष महर्जनले भने , ‘सहकारी भन्ने बित्तिकै बचत ऋणको कारोबार गर्ने र त्यसो गर्दा मात्र उनीहरु दिगो हुन्छन्, अब्बल र सुशासनयुक्त हुन्छ अनि देशको समृद्धि सम्भव छ भन्ने बहसलाई हामीले चिर्न खोजेका छौं । सहकारी अध्यादेशले पनि अब उत्पादनमूलक कार्यहरुसँग नजोडि सहकारीहरु अघि बढ्न नसक्ने अवस्था आएको छ । अब सहकारीहरुलाई उत्पादनसँग जोड्नैपर्छ ।’ अध्यक्ष महर्जनले उत्पादनसँगै अर्को मुख्य चुनौती भनेको बजारीकरण पनि भएको उल्लेख गरे। सहकारीका सदस्यका उत्पादनहरुलाई बजारमा स्थापित गराउने विषय चुनौतीपूर्ण भएको भन्दै त्यस दिशामा जिल्ला सहकारी संघले काम गर्ने प्रतिबद्धता उनको छ ।

‘सहकारीका सदस्य महिला दिदीबहिनीहरुले गरेको उत्पादनले बजार नपाएको अवस्था छ, अध्यक्ष महर्जनले , भने ‘त्यस विषयम हामीलाई गुनासाहरु पनि प्राप्त भएका छन्, त्यसैले उत्पादनसँगै बजारीकरणमा हाम्रो जोड हुनेछ । त्यसका लागि राज्यसँग बहसपैरवीको प्रयास गर्नेछौं ।’ उनले जिल्ला सहकारी संघले प्रत्येक शुक्रबार र शनिबार आफ्नो कार्यालय परिसरमा अर्गानिक वस्तुहरुको बजार सञ्चालन गर्दै आएको बताउँदै नयाँ सञ्चालक समितिले त्यसलाई बिस्तार गर्ने लक्ष्य लिएको पनि जानकारी गराए । उत्पादनसँग जोडेर उद्यमी बनाउने अभियानमा तीनै तहका सरकारदेखि सबैको चासो आवश्यक भएको बताउँदै जिल्ला सहकारी संघले आफ्नो बूताले भ्याएसम्म गर्ने वचनवद्धता व्यक्त गरे । कार्यक्रममा ललितपुर महानगरपालिका उद्योग शाखा प्रमुख चन्द्रलाल डंगोलले नाम जे भएपनि काम सबै सहकारीले बचत तथा ऋणको गर्दै आएको भन्दै उत्पादनमा जान सुझाए।

संस्था दर्ता गर्दाको उद्देश्यबाट विमुख भई सहकारीहरु बचत ऋणको कारोबारमा मात्र लागेको भन्दै डंगोलले सदस्यको सामाजिक आर्थिक उन्नतिका लागि सहकारीहरु उत्पादनमा जानुपर्ने  बताए । उनले भने , ‘बचत तथा ऋण सहकारीहरुको काम बचत तथा ऋणको मात्र होइन सदस्यहरुलाई सीप सिकाएर उद्यमशील बनाउनपर्यो नि । त्यसो गर्यो भने तपाईंहरुको ऋण पनि बिक्छ ।’सहकारीको उद्देश्य आफूले नाफा आर्जन गर्नु नभई सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउनुभए पनि अधिकांश सहकारीहरुले त्यस्तो सकारात्मक रुपान्तरण गरेको उदाहरण र तथ्याङ्कहरु नभेटेको उनले  गुनासो गरे । उनले भने, ‘सहकारीहरुले विनियममा राखेको उद्देश्य नै पूरा गर्दैनन् । कतिपयले बचत ऋणको कारोबार नगर्ने भनेर विनियममा राखेपनि गरिरहेका छन् र सबैले सदस्यहरुको जीवन रुपान्तरण गर्ने भने पनि त्यसो नगरी नाफा केन्द्रित भएका छन् ।

त्यसैगरी सदस्य केन्द्रित भने पनि केही सञ्चालकहरु केन्द्रित मात्र भएको पाइएको छ ।’महानगरपालिकामा विगतमा सहकारी शाखाको समेत जिम्मेवारी सम्हाल्नुभएका डंगोलले भने, ‘तपाईंहरुको संस्थाले कति सदस्यलाई व्यवसायी र उद्यमी बनाउनुभयो भनेर कतै आएको छैन । अधिकांश रिपोर्टहरु कपीपेष्ट हुन्छन् । बहुउद्देश्यीय सहकारीहरुलाई उद्यमशीलताका काम गर भनेर बजेट पनि राखियो, वेबसाइटमा सूचना पनि राख्यौं कसैले हेर्दै हेरेन पोहोर पनि बजेट उपयोग भएन यसपालि पनि दोहोर्याएर सूचना राख्दा पनि बहुउद्देश्यीय सहकारीहरु धेरै आएनन् । बोलाएर कार्यक्रम गर भन्नुपर्ने अवस्था छ ।’ महानगरपालिकासँग लागत साझेदारीमा काम गर्न आउ भनेर बोलाउँदा पनि सहकारीहरु नआएको गुनासो डंगोलले गरे। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईंले सहकारीहरु उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने समयको माग रहेको बताए । सहकारीका सदस्यहरुले संस्थामा आवद्ध भैसकेपछि जीवन परिवर्तन भएको वा उद्यमशीलतातर्फ लागेको र त्यसमा सहकारीको योगदान रहेको अनुभूति गर्नुपर्ने  बताए ।

722963835_3717329461742921_6317345214636769423_n.jpg

बचत तथा ऋणको काम गर्ने सहकारीहरुले पनि आफ्ना सदस्यहरुलाई उद्यमी तथा व्यवसायी बन्न आवश्यक पुँजी, प्रविधि र सीप उपलब्ध गराउनुका साथै बजारीकरणमा पनि सहयोग गर्नुपर्ने धारणा उनको छ। ‘बजारीकरणका लागि जिल्ला सहकारी संघले हप्तामा दुई दिनमात्र होइन साताभरि नै फरक फरक उत्पादनहरुको बजारीकरण गरी व्यवस्थित प्रवर्धनमा भूमिका खेल्नुपर्ने हुन्छ । त्यसका लागि नयाँ सञ्चालक समितिलाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।’ उनले  ललितपुर महानगरपालिका जिल्लाभरका सहकारीहरुको लागि विगतको डिभिजन सहकारी कार्यालय जस्तै अभिभावक भएको भन्दै महानगरले सहकारीहरुको विकास र प्रवर्धनमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे।

अध्यक्ष बजगाईंले जिल्ला सहकारी संघमा जगतलाल महर्जनको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएसँगै क्रियाशीलता देखिएको पनि बताए । जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले सहकारी भन्ने बित्तिकै बचत तथा ऋणको कारोबार गर्ने संस्था भन्ने भाष्य अब चिर्नुपर्ने बताए ।  ‘बहुउद्देश्यीय, कृषि, उपभोक्ता लगायत सबै सहकारीलाई त्यही आरोप लाग्ने गरेको छ, उनले भने, ‘हामी सजिलो तिरमात्रै हिड्यौं, त्यो हामी सबैको कमजोरी रह्यो ।’उनले  सहकारीको हिजोको मान्यतालाई चिर्दै उत्पादन, बजारीकरण र व्यावसायीकरणतर्फ अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे । महर्जनले पनि जिल्ला सहकारी संघको पछिल्लो सक्रियताको प्रशंसा गर्दै चुनौतीहरुसँग भाग्ने होइन सामना गर्ने र तिनलाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने सुझाव दिए । 

जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिल वीर बज्राचार्यले सञ्चालन गरेको  कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघकी उपाध्यक्ष शशि खड्काले आजको कार्यक्रमले सहकारीहरुलाई उत्पादनशील क्षेत्रमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त  गरिन् । कार्यक्रमको दोस्रो सत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरु राजन केसी र धर्मेन्द्रराज शाक्यले सहजीकरण गरेका थिए ।

बजारको अध्ययन नगरी अरुको देखासेखीले गरिने व्यवसाय दिगो नहुने प्रशिक्षक द्धयको भनाई छ । ज्ञान,सीप र अनुभवले मात्र व्यवसाय सफल हुने हुँदा ती कुराको अनुभव लिएर व्यवासय गर्न उनीहरुको सुझाव छ । ज्ञान र सीपको अभावले व्यवसाय संकटमा पर्ने भएकाले पुँजीले मात्र उद्यमी बन्न नसकिने उनीहरुले बताए । सहकारी संस्थाले कार्य योजना बनाउँदा उद्यमशीलता विकासको लागि बजेट विनियोजन गर्नु पर्नेमा उनीहरुको जोड छ ।  सहकारी मार्फत कृषि, पशुपालना र रोजगारी सृजनाको क्षेत्रमा धेरै काम गर्न सकिने भएकाले सदस्यहरुको पहिचान गरी पुँजीलाई त्यसतर्फ लगानी गर्न उनीहरुको सुझाव छ ।

721995699_3717338041742063_5544157831878645440_n.jpg