बुधबार, भाद्र ३ गते २०८३

आयात–निर्यात दुवै बढेपनि व्यापार घाटा अझै चुलिँदै


जेठ २७, २०८३ बुधबार
आयात–निर्यात दुवै बढेपनि व्यापार घाटा अझै चुलिँदै

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनाको प्रतिवेदनअनुसार वैदेशिक व्यापारमा सुधार देखिए पनि व्यापार घाटा झनै विस्तारिएको छ। वैशाखसम्म नेपालको कुल वस्तु निर्यात १४.२ प्रतिशतले बढेर २४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने आयात १४.८ प्रतिशतले वृद्धि भएर १ खर्ब ६९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

निर्यातभन्दा आयातको वृद्धि दर बढी भएकाले दश महिनामा व्यापार घाटा १४.९ प्रतिशतले बढेर १ खर्ब ४४३ अर्ब ६८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.७ प्रतिशतले मात्र बढेको थियो। निर्यात–आयात अनुपात १४.७ प्रतिशतमा सीमित रहेको छ।

प्रतिवेदनअनुसार भारततर्फको निर्यात १६.१ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.५ प्रतिशतले बढेको छ। भटमासको तेल, अलैंची, पाम तेल, चाउचाउ र जुटजन्य वस्तुको निर्यात बढेको छ। तर जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा तथा हस्तकलाका सामग्रीको निर्यात घटेको छ।

यता आयाततर्फ पेट्रोलियम पदार्थ, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स र भटमासको कच्चा तेलको आयात बढेको छ। भारत, चीन तथा अन्य मुलुकबाट हुने आयात क्रमशः १०.६ प्रतिशत, २१.४ प्रतिशत र २०.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।