शुक्रबार, कार्तिक ७ गते २०८३

लोकेश्वर साकोसको संस्थागत विकास तालिम सम्पन्न


जेठ २५, २०८३ सोमबार
लोकेश्वर साकोसको संस्थागत विकास तालिम सम्पन्न


लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा एकदिने संस्थागत विकास तालिम समापन कार्यक्रम बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यतामा सम्मन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोसाईंले सहकारी क्षेत्र सेवाभावलाई आत्मसाथ गर्दै संचालन गनुपर्ने बताए । सहकारीहरु स्वेच्छाचारी ढंगले नभई नियम, कानुन र समुदायको भावना अनुसार चल्नुपर्नेमा उनले जोड दिए ।

सहकारी संस्था निरन्तर रुपमा संचालन हुनका लागि संस्थाको जिम्मेवार कर्मचारीको क्षमता विकासका साथै सहकारी एने नियम र कानुनको बारेमा पुर्णरुपमा ज्ञान हुनुपर्ने  उनले बताए ।  सहकारी क्षेत्रमा देखा परेका समस्याहरुलाई औंल्याउँदै सहकारीमा उक्त समस्या निम्तनुको मुख्य कारण राज्यको गलत र फितलो नीति, जथाभावी सहकारी खोल्न इजाजत दिनु र ठुला व्यवसायी र धनाढ्य व्यक्तिहरुले सहकारी संस्था कब्जा गर्नु रहेको उनको भनाई छ ।

नयाँ गठित सरकारबाट ल्याएको नेपालको बजेटको आलोचना गर्दै उनले बजेट पूँजीवादी र विदेशीमुखी रहेको तथा सरकारले विद्युत ५० युनिट माथि उपभोगमा लगाएको कर नीति तथा स्वास्थ्य क्षेत्रमा लागेको नयाँ करका दायित्व, कृषि, शिक्षा र विकास निर्माणका क्षेत्रलाई नसमेटिएको, वैदेशिक ऋणबाट खर्च पुर्ति गर्ने, कर्मचारीहरुको तलब तथा परिश्रमिक बृद्धिलाई मात्रा जोड दिएको जस्ता धेरै कारणबाट यो बजेट सर्वसाधारण जनताको हितमा नरहेको  उनको टिप्पणी छ ।

कार्यक्रमका अर्का अतिथि संस्थाका संस्थापक अध्यक्ष एवं भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिका सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगर क्षेत्रभित्रका सहकारीहरुको अनुगमन गर्दा देखिएका चुनौती र समस्याहरुका बारेमा जानकारी दिए। उनले पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) प्रविधिको प्रयोग मानव जीवनमा सहजता ल्याएको भएता पनि यसको नकारात्मक प्रभावबाट जोगिन र सचेत रहनुपर्ने धारणा राखे ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्थामा संचालक समितिमा रहने सदस्हरुमा सहकारी सम्बन्धी ज्ञान र आधारभूत योग्यताहरु भए मात्रा सहकारी राम्रोसँग संचालन गर्नु सकिने बताए । तालिमको मुख्य उद्देश्य सदस्य, समिति उपसमितिका पदाधिकारीहरुको क्षमता बृद्धि गर्ने तथा नयाँ कार्यसमिति निर्माणलाई व्यवस्थित बनाउनु रहेको उनले बताए। सहकारीले स्थापना कालदेखि नै सदस्यको हकहितमा कार्य गर्दै आएकोमा आगामी दिनहरुमा पनि सोहि अनुसार कार्य गर्दै जाने प्रतिवद्धता उनले व्यक्त गरे ।

91542c71-f147-4623-bcdf-d82a0bff3f11.jpeg

अन्तरक्रियात्मक रुपमा संचालन भएको तालिममा संस्थाका समिति, उपसमितिका ४० जना पदाधिकारीहरुको उपस्थित रहेको थियो । तालिमको प्रशिक्षण सहकारी तालिम प्रशिक्षणकर्मी राधेश्याम दुवाल र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण ध्वजुले रहेका थिए। कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट संस्थको शिक्षा तथा बचत उपसमितिका सदस्य मञ्जुमैंया लाखाजुले तालिम अत्यन्त प्रभावकारी र उपयोगीमूलक रहको बताइन् । कार्यक्रममा संस्थाका सचिव राजु छुकां र उपाध्यक्ष प्रनेश बाटी लगायतले विचार राखेका थिए ।