बुधबार, भाद्र ३ गते २०८३

सहकारी प्राधिकरणको विज्ञ सदस्यमा सात जना भिड्दै, सार्वजनिक भयो सिफारिस तालिका


जेठ २०, २०८३ बुधबार
सहकारी प्राधिकरणको विज्ञ सदस्यमा सात जना भिड्दै, सार्वजनिक भयो सिफारिस तालिका


ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यको लागि सात जनाको दरखास्त स्वीकृत भएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार सात जनाको दरखास्त स्वीकृत भएको हो ।

दर्ता हुन आएका दरखास्त उपर सहकारी ऐन, २०७४ को दफा १०३ ङ को उपदफा (२) र मिति २०८३/१/२६ मा प्रकाशित सूचनामा उल्लिखित शर्तहरू पुरा गरे/ नगरेको विषयमा छानबिन गरी सहकारी ऐन, २०७४ को दफा १०३ग, को उपदफा (१) को खण्ड )घ) बमोजिमको योग्यता पुगेका दरखास्त मात्र स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार विज्ञ सदस्यहरुमा डा. रमेश प्रसाद चौलागाईं, कृष्ण अर्याल, डा.रुपमा जोशी, नारायण पराजुली, उमेश खड्का, सुर्यप्रसाद रिमाल र अच्युतम थापाको दरखास्त स्वीकृत भएको थियो ।

प्राधिकरणले विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने तालिका समेत प्रकाशन गरेको छ । दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यवसायिक कार्ययोजनामा सङ्केतिकरण,व्यवसायिक कार्य योजना परीक्षणका लागि विषय विज्ञ/दक्ष मनोनयन,व्यवसायिक कार्ययोजना परीक्षणका लागि सम्बन्धित विषय विज्ञ / दक्षसँग पठाउने र व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको कार्यक्रमको प्रकाशन, विज्ञ सदस्य पदको उम्मेदवारको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र विज्ञ सदस्य पदका उम्मेदवारको अन्तर्वार्ताको कार्यतालिका रहेको छ । आगामी असार सात गतेसम्म विज्ञ सदस्य छनोट प्रक्रिया गरिसक्ने गरी प्राधिकरणले कार्यतालिका सार्वजनिक गरेको छ ।