राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् । सहमतिबाट अध्यक्ष चयन हुन नसकेपछि सात जना सञ्चालकबाट गोप्य मतदानको आधारमा बैंकको अध्यक्ष चयन गरिएको हो ।
आज भएको निर्वाचनमा उप्रेती बहुमत सदस्यहरुको मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको निर्वाचन उपसमिति संयोजक अधिवक्ता प्रवल शर्माले जानकारी दिए । बैंकको अध्यक्ष पदमा बागमती प्रदेशका सञ्चालक डा. परितोष पौड्यालको उम्मेवदारी परेको थियो । निर्वाचित अध्यक्ष उप्रेतीले ५ मत र पौड्यालले २ मत प्राप्त गरेका थिए ।
बैंकको नव निर्वाचित सञ्चालकहरु मध्ये जेष्ठ सदस्यको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठको निर्णय अनुसार बैंकको अध्यक्ष चयनका लागि मतदानको विधि तथा प्रक्रिया सहितको जिम्मेवारी निर्वाचन उप समितिलाई दिइएको थियो । बैंकको निर्वाचन कार्यविधि २०७५ (संशोधन सहित) को दफा ९ बमोजिम अध्यक्षको लागि निर्वाचन भएको हो । बैंकको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरूलाई हिजो शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो । राष्ट्रिय सहकारी महासंघको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक अधिवक्ता प्रबल शर्माले बैंकका नवनिर्वाचित सञ्चालकहरु तथा लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
बैंकको २२औं वार्षिक साधारणसभाको निर्णयअनुसार सञ्चालक, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य पदका लागि २०८३ जेठ ९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित तथा सर्वसम्मत चयन भएका प्रतिनिधिहरूलाई निर्वाचन उपसमितिका संयोजक शर्माले शपथ ग्रहण गराउनुका साथै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्।
बैंकको सञ्चालकमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, बागमती प्रदेशबाट डा. परितोष पौड्याल, गण्डकी प्रदेशबाट कमला गिरी, लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बराल, कर्णाली प्रदेशबाट काली बहादुर महतारा तथा सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट सञ्चालक समितिमा निर्वाचित भएका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पोखरेल र ममता कुमारी शाह चयन भएका छन् । बैंकको ९ सदस्यीय सञ्चालक समितिका बाँकी दुई विज्ञ सञ्चालकहरु पछि मनोनयन गरिने छ । यस अघि सदस्य संस्थाबाट बैंकको अध्यक्ष चयन हुने गरेकोमा बैंकको संशोधित विनियम अनुसार सञ्चालक समिति मध्येबाट बैंकको अध्यक्ष चयन गरिएको हो ।
नेपालपत्र संवाददाता