शुक्रबार, कार्तिक ७ गते २०८३

सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने


जेठ ११, २०८३ सोमबार
सरकारले सहकारी  बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

 सहकारीको बेथिति जाँचबुझ आयोगले  केही समय अगाडि सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको जानकारी गराए ।

अघिल्लो सरकारले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय गरेको थियो । २०८२ माघ २ गते सुशीला कार्की नेतृत्वको सरकारले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा नवराज सापकोटा, पुण्यप्रसाद दंगाल, नवराज सिम्खडा र विज्ञ सदस्य बसन्तबहादुर शाक्य सदस्य रहेका थिए । तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को माघ २ गतेको निर्णयअनुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम ‘सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२’ गठन गरिएको थियो । सरकारले आयोगलाई प्रतिवेदन बुझाउन तीन तीन महिनाको समय दिएको  थियो ।

सरकारले सहकारीमा समस्या आउनुमा सहकारीका सञ्चालकसँगै सरकारी निकायको समेत कमजोरी रहेको भन्दै जाचबुझ आयोग गठन गरेको थियो । विगतमा सहकारीका सञ्चालक र अन्य पक्षलाई अध्ययन गर्न आयोग तथा कार्यदल गठन हुने गरेको भए पनि यस पटक भने सहकारी विभाग र त्यस अन्तर्गतका कर्मचारीहरुले गरेको बदमासीलाई अध्ययन गर्न आयोग गठन गरिएको थियो ।