राष्ट्रिय सहकारी बैंकको आसन्न निर्वाचनमा बागमती प्रदेशबाट सञ्चालकका लागि परितोष पौड्याललाई साझा उम्मेदवारको रुपमा अघि सारिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पौड्याललाई तीन राजनीतिक दलले बैंकको सञ्चालकमा साझा उम्मेदवार भएको घोषणा गरे । बागमती प्रदेशबाट सहकारी बैंकको सञ्चालकमा सहकारी अभियन्ता एवं बागमती प्रदेश सहकारी संघका अध्यक्ष राम शरण शर्मा घिमिरेले समेत उम्मेदवारी दिए पछि पौड्याललाई सबै राजनीतिक दलको साझा उम्मेदवारको रुपमा अघि सारिएको हो ।
राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष एवं निर्वाचन परिचालन सदस्य रमेश प्रसाद पोखरेलले पौड्याल तीन राजनीतिक दलको साझा उम्मेदवार भएको घोषणा गरे । पौड्यालले २०५३ सालदेखि सहकारी अभियानमा सक्रिय रुपमा लागेको बताउँदै सहकारी क्षेत्रको विभिन्न निकायको महत्वपूर्ण जिम्मेवारी सम्महाली सकेकाले बैंकको नेतृत्वका लागि सक्षम पात्र भएको पोखरेलले बताए । पोखरेलले पौड्याल लाई नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले समर्थन रहेको जानकारी दिए । उनले बैंकको नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप भन्दा पनिे तीन पार्टीबिच सहमतिको प्रयास भएको जनाए । बैंकमा सात जना सञ्चालक समिति र तीन जना लेखा सुपरीवेक्षण सहितको निर्वाचनमा अन्य प्रदेशमा सर्वसम्मत बनाउन सकेको पोखरेलले बताए । बागमती प्रदेशमा सहमति हुन नसकेको र यसलाई प्रजातान्त्रिक प्रक्रियाबाट टुङ्ग्याउन लागेको भन्दै पौड्याललाई मतदान गर्न उनको आग्रह छ ।
पौड्याललाई बैंकको निर्वाचनमा परिणाम प्राप्त होस् भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट पारे । विगतदेखि सहकारी बैंकमा सहमति र सहकार्य गर्दै आएको र सबै दलको प्रतिनिधित्व हुने गरी सञ्चालक समिति चयन गर्ने गरेको र अहिले पनि त्यसलाई निरन्तरता दिएको उनको भनाई छ । राजनीति दलहरुबीच भएको सहमतिलाई उचाईमा पु¥याउनको लागि सबै सहकारीकर्मीले पौड्याललाई मतदान गर्न उनले अपिल गरे । सहकारी अभियानमा पौड्याल परिचित नाम भएको भन्दै उनले सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । सहकारी अभियानको कुनै न कुनै नेतृत्वमा रहेर पौड्यालले जिम्मेवारी सम्हालेको र लेखेको रुपमा समेत परिचित नभएको उनले बताए । राजनीतिक दल र सहकारीकर्मीको हिसाबले सबैले पौड्याललाई मतदान गरी विजयी गराउन उनको आग्रह छ ।
कार्यक्रममा नेकपा एमालेका सचिव खगराज अधिकारी, सोही पार्टीका केन्द्रीय सदस्य एवम् सहकारी विभाग प्रमुख खेम प्रसाद लोहनी, संविधानसभा सदस्य पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य लीलामणि पोखरेल, नेपाली कांग्रेस केन्द्रीय सदस्य गिता सत्याल लगायतले वर्तमान परिस्थितिमा सहकारी बैंक सञ्चालनका लागि सहमति र सहकार्य आवश्यक भएको बताउँदै त्यसैका लागि साझा उम्मेदवार घोषणा गरिएको बताए ।
तीनै दलका प्रतिनिधिहरुले साझा उम्मेदवार पौड्यालको पक्षमा एकजुट भएर मतदान गर्न आग्रह गरे । सहकारी क्षेत्रमा देखिएको अफ्ठेरोको समयमा सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने आवश्यकता रहेको उनीहरुले बताए । तीनै दलका वक्ताहरुले सहकारी अभियानलाई प्रबर्धन गर्न बनेको सहकारी बैंकले अबका दिनमा के कस्ता कामहरु गर्छ, त्यो सबैको चासोको विषय हुने भन्दै घोषणापत्र बनाए अघि बढ्न सुझाए ।