बुधबार, भाद्र ३ गते २०८३

नौ महिनामा ३९.१ प्रतिशतले बढ्यो विप्रेषण, १६ खर्ब ५९ अर्ब नाघ्यो आप्रवाह


बैशाख २९, २०८३ मंगलबार
नौ महिनामा ३९.१ प्रतिशतले बढ्यो विप्रेषण, १६ खर्ब ५९ अर्ब नाघ्यो आप्रवाह

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्म (चैत मसान्त) को वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार देशमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह १०.२ प्रतिशतले मात्रै बढेको थियो।

प्रतिवेदनअनुसार चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। गत वर्षको यही महिनामा १ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ विप्रेषण आएको थियो। यसले एक वर्षको अवधिमा मासिक विप्रेषणमा पनि उल्लेख्य विस्तार भएको देखाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह ३१ प्रतिशतले बढेको छ, जसले विदेशी मुद्राको सञ्चितिमा सकारात्मक योगदान पुर्‍याएको संकेत गर्दछ। विप्रेषण वृद्धिसँगै खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा खुद द्वितीय आय १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको देखिएको छ। समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ९४ हजार १८६ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ लाख ५८ हजार २२२ भन्दा कम हो। यद्यपि पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २५९ पुगेको छ, जबकि अघिल्लो वर्ष सो संख्या २ लाख ४९ हजार ६५२ थियो।