मुलुकमा रहेका सहकारी संस्थाले ११ खर्ब भन्दा बढी पुँजी परिचालन गरेका छन् । अर्थ मन्त्रालयले प्रकाशित गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्र अनुसार मुलुकभर १४ हजार भन्दा बढी रहेका बचत तथा ऋण सहकारीले ११ खर्ब २६ अर्ब निक्षेप संकलन गरी ९ खर्ब २४ अर्ब ऋण प्रवाह गरेको उल्लेख छ ।
मन्त्रालयले प्रकाशित गरेको स्थितिपत्र अनुसार यस आर्थिक बर्षको चैत्र मसान्तसम्म सहकारीले उक्त मात्रामा पुँजी परिचालन गरेका हुन् । त्यसैगरी स्थितिपत्रमा बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन र सुपरिवेक्षण कमजोर रहेको उल्लेख गरिएको छ । बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन र सुपरिवेक्षण अभावमा संस्थागत सुशासन कमजोर रहेको जनाइएको छ ।
तीन तहका सरकारको कार्यजिम्मेवारी रहेको यो क्षेत्रमा बचत तथा ऋण सहकारीको वास्तविक सख्या र कारोबारको यथार्थपरक विवरण यकिन हुन बाँकी रहेको स्थितिपत्रले औंल्याएको छ । यी संस्थाहरुको नियमन र सुपरिवेक्षणका लागि स्थापित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्य प्रारम्भ गरेको र बचत तथा ऋण सहकारी संस्थामा देखा परेको समस्याहरु समाधान गरी यस्ता संस्थाहरु सहकारी सिद्धान्त अनुरुप मात्र सञ्चालन हुने व्यवस्था गर्न भनिएको छ । त्यसका साथै सहकारी मार्फत् साना आर्थिक क्रियाकलापहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपालपत्र संवाददाता