सहकारीमार्फत आर्थिक सशक्तिकरण, सामाजिक रूपान्तरण र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड १७ वर्षमा प्रवेश गरेको छ । संस्थाले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आफ्ना गतिविधि र नीति कार्यक्रमहरु प्रस्तुत गरेको छ ।
कार्यक्रममा अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको १७ वर्षे यात्राबारे प्रकाश पार्दै सहकारीमार्फत सदस्यहरूको आर्थिक अवस्था सुधार गर्नुका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउन संस्थाले निरन्तर काम गरिरहेको बताए। २०६६ साल चैत २६ गते स्थापना भई २०६७ साल असोज २२ गतेदेखि सेवा सुरु गरेको संस्थाले “सदस्य बनौं सिवाईसीमा, हातेमालो देश विकासमा” भन्ने मूल नारासहित धवलागिरी क्षेत्रका चार जिल्लामा सेवा विस्तार गर्दै आएको पौडेलले बताए ।
संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि “घरघर र विद्यालयमा उद्यम फैलाऔं, गरिबीलाई शून्य बनाऔं” भन्ने नारासहित विभिन्न कार्यक्रमहरू अघि सारेको जनाएको छ । विद्यालय केन्द्रित कार्यक्रम, घरदैलो वित्तीय साक्षरता, युवा उद्यमशीलता विकास, महिला सशक्तिकरण, जेष्ठ नागरिक सम्मान, विपद् व्यवस्थापन लगायतका कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ । साथै युवालाई लक्षित गर्दै क्यारियर काउन्सेलिङ, जब ट्रेनिङ, स्टार्टअप प्रवद्र्धन तथा बचतमा आकर्षण गर्ने योजना समेत सञ्चालन गरिने अध्यक्ष पौडेलले जानकारी गराए ।
संस्थामा हाल २७ हजार ६४ सदस्य, २५ वटा सेवाकेन्द्र, ६ हजार ७ सय ३३ बाल बचतकर्ता, ८८ जना कर्मचारी, ४ हजार ७ सय ५२ ऋणी सदस्य, विभिन्न कोषहरूमा १ करोड ९५ लाखभन्दा बढी रकम सञ्चित रहेको अध्यक्ष पौडेलले कार्यक्रममा जानकारी गराए । साथै संस्थाको शेयर पूँजी ३८ करोड ९१ लाख, कुल बचत १ अर्ब ६८ करोड, लगानीमा रहेको ऋण १ अर्ब ३७ करोड, संस्थागत पूँजी २० करोड र कुल सम्पत्ति २ अर्ब ५२ करोडभन्दा बढी रहेको र तरलता प्रतिशत ३८.८६ रहेको समेत अध्यक्ष पौडेलले जानकारी गराए ।
कार्यक्रमका क्रममा अध्यक्ष पौडेलल सिवाईसीले सहकारी क्षेत्रमै प्रतिस्पर्धात्मक रूपमा न्यून ब्याजदरमा ऋण सेवा उपलब्ध गराउँदै आएको बताए । विभिन्न शीर्षकका ऋणमा ब्याजदर घटाउँदै लगिएको र केही सेवामा करिब ५ .५ प्रतिशतमा ऋण उपलब्ध गराइरहेको उल्लेख उल्लेख गर्दै पौडेलले एकल महिला तथा फरक क्षमता भएका ऋणी सदस्यहरूलाई हाल कायम ब्याजदरमा समेत १ प्रतिशतसम्म छुट प्रदान गरिँदा ब्याजदर ४.५ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको बताए। यो ब्याजदर सहकारी क्षेत्रमा नेपालमै सबैभन्दा कम भएको पौडेलको दावी थियो ।
कार्यक्रमका क्रममा अध्यक्ष पौडेलले संस्थाले गर्ने क्रेडिट पलस लगायतका विशेष कार्यहरूले सिवाईसी अन्य सहकारी संस्थाभन्दा फरक भएको बताउनु भयो । यिनै कार्यहरुलाई हेर्नका लासिग हरेक वर्ष देशभरका सहकारी संस्थाका सञ्चालक, शेयर सदस्य र कर्मचारीहरू अध्ययन भ्रमणका लागि यहाँ आउने गरेका छन् । वार्षिक रूपमा करिब १२–१५ हजारसम्मको संख्यामा आउने यस्ता टोलीहरूले संस्थाका सफल अभ्यासहरूको अध्ययन गर्ने गर्छन् । यसले सिवाईसीको पहिचान मात्र विस्तार गरेको छैन, बागलुङ जिल्लाको पर्यटन प्रवर्दनमा पनि उल्लेखनीय योगदान पु¥याएको पौडेलको भनाई छ।
कार्यक्रमका क्रममा संस्थाबाट ऋण लिएर निधन भएका शेयर सदस्य कृष्णबहादुर सार्कीको मृत्यु पश्चात ११ लाखको ऋण मिनाह गरिएको छ । साथै, उनले तिरेको रु १ लाख किस्ता पनि फिर्ता गरी श्रीमती ओमा सार्कीलाई चेक मार्फत हस्तान्तरण गरिएको छ । सस्थाले सदस्यहरुले लग्ने ऋणको विमा गरिदीने व्यवस्था गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले संस्थाका गतिविधि, वित्तीय अवस्था तथा भावी योजनाबारे जिज्ञासा राखेका थिए । कार्यक्रमले सहकारी र सञ्चार क्षेत्रबीच सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सहसचिव सुवास आचार्यको सञ्चालन र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष सिर्जना पन्तले समापन गरेका थिए ।
नेपालपत्र संवाददाता