शनिबार, कार्तिक ८ गते २०८३

साना बचतकर्ताको बचत फिर्ता गर्न सरकारको चासो,बचतकर्ता संरक्षण महासंघसँग सुझाव लिइदै


चैत्र १७, २०८२ मंगलबार
साना बचतकर्ताको बचत फिर्ता गर्न सरकारको चासो,बचतकर्ता संरक्षण महासंघसँग सुझाव  लिइदै

सरकारले सहकारीका साना बचतकर्ताहरुको बचत फिर्ताको लागि गृहकार्य सुरु गरेको छ । मन्त्रीपरिषद्को चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीमा साना बचतकर्ताको एक सय दिनभित्र बचत फिर्ताको कार्य सुरु गर्ने गरी गृहकार्य अगाडि बढाइने उल्लेख छ ।

सोही अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गर्ने भएको छ । मन्त्रालयले  त्यसका लागि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानलाई स्पष्ट लिखित सुझाव माग गरेको छ । मन्त्रालयले राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आज छलफल गर्ने भएको छ । सहकारीमा राखेको बचत फिर्ताको माग राख्दै पीडितहरु लामो समयदेखि सडकमा आन्दोलन गर्दै आएका थिए । नयाँ सरकार गठन भएसँगै सहकारी पीडितले  बचत फिर्ता पाउने आशा पलाएको छ ।

मुलुकमा आएको आर्थिक मन्दीका कारण घर जग्गा लगायतको क्षेत्रमा संकट आउँदा सयौं सहकारी संस्था वित्तीय समस्यामा गएकाले सदस्यको बचत जोखिममा परेको हो । अर्कोतर्फ सहकारी मुल्य, मान्यता र सिद्धान्त बाहिर गई जथाभावी लगानी र वित्तीय पारदर्शिताको अभावले केही सहकारी समस्यामा परेका हुन् ।