सहकारी संस्थाहरूको संस्थागत विकास र कानुनी परिपालनालाई सुदृढ बनाउने उद्देश्यका साथ चाँगुनारायण नगरपालिका क्षेत्रका सहकारी संस्थाहरूका लागि विशेष सदस्य सक्षमता तालिम सम्पन्न भएको छ। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि। को चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष जगन्नाथ प्रजापतिले सहकारीको सञ्चालन नीति, विधि र प्रविधि बमोजिम संस्था चलाउन यस्ता तालिमहरू अपरिहार्य रहेको बताए । उनले नव-निर्वाचित सञ्चालकहरूका लागि कानुनी व्यवस्थाको स्मरण गर्दै भने, सहकारीमा निर्वाचित भएको तीन महिनाभित्र सञ्चालक क्षमता अभिवृद्धि तालिम लिनुपर्ने कानुनी प्रावधान छ। सोही व्यवस्थालाई मध्यनजर गर्दै संघमा आबद्ध सदस्य संस्थाहरूका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूलाई यो तालिम प्रदान गरिएको हो। उपाध्यक्ष प्रजापतिले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकेका कुरालाई व्यवहारमा उतार्न र संस्थालाई सदस्य केन्द्रित बनाउन आग्रह समेत आग्रह गरे ।
तालिमको विभिन्न सत्रमा सहकारी क्षेत्रका अनुभवी विज्ञहरूले प्रशिक्षण प्रदान प्रदान गरेका थिए । संघका निवर्तमान अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीको ऐतिहासिक विकासक्रम, यसका आधारभूत अवधारणा र सात सिद्धान्तहरूको व्यावहारिक प्रयोगबारे प्रकाश पारे । उनले सहकारीमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उपसमितिहरूको काम, कर्तव्य र अधिकारको स्पष्ट व्याख्या गर्दै जिम्मेवार नेतृत्वको आवश्यकतामा जोड दिए ।
त्यसैगरी, संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले आन्तरिक नियन्त्रण प्रणाली र आन्तरिक लेखापरीक्षणको महत्त्वबारे प्रस्तुतीकरण गरेका थिए । उनले भने,आन्तरिक नियन्त्रण प्रणाली र लेखापरीक्षणको फरक बुझ्नु जरुरी छ। संस्थालाई जोखिममुक्त बनाउन प्रभावकारी बैठक प्रणाली र सही निर्णय लेखन कलाले ठूलो भूमिका खेल्छ। धोजुले सहभागीहरूलाई प्रयोगात्मक अभ्यास समेत गराएका थिए । चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिकी संयोजक एवं संघकी सञ्चालक चण्डीका छुकांले तालिमले सहकारीलाई विधिपुर्वक र पारदर्शी ढंगले सञ्चालन गर्न थप ऊर्जा प्रदान गरेको विश्वास व्यक्त गरे । नगर क्षेत्रका सहकारीहरू बीचको एकता र क्षमता विकासका लागि समन्वय उपसमिति सधैं क्रियाशील रहने उनको भनाई छ । तालिममा सहभागीको तर्फबाट झझल्को बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदिप कुमारके.सी. ले तालिमका विषयवस्तु अत्यन्तै सान्दर्भिक र उपयोगी रहेको बताए ।
उनले भने,संस्था सञ्चालनमा आइपर्ने व्यावहारिक कठिनाइहरू चिर्न यो तालिमले मद्दत गरेको छ, यस्तो अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिन्छु। तालिम कार्यक्रममा चाँगुनारायण नगर क्षेत्रमा अवस्थित झझल्को बचत तथा ऋण सहकारी संस्था, नौलो बचत तथा ऋण सहकारी संस्था, देवी महिला बचत तथा ऋण सहकारी संस्था र देवीस्थान जागृति महिला बचत तथा ऋण सहकारी संस्थाहरूबाट सञ्चालक समिति, लेखा समिति र व्यवस्थापक सहित कुल ४३ जनाको उत्साहजनक सहभागिता रहेको थियो। सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका चुनौतीहरूलाई सामना गर्न र सुशासन कायम गर्न यस्ता क्षमता विकासका कार्यक्रमहरू कोशेढुंगा सावित हुने सहभागीहरूको साझा निष्कर्ष थियो ।
नेपालपत्र संवाददाता