बुधबार, भाद्र ३ गते २०८३

नतिजा कस्तो आउला यसतर्फ किन सोचिएन ? - रत्ननिधि रेग्मी


चैत्र १३, २०८२ शुक्रबार
नतिजा कस्तो आउला  यसतर्फ किन सोचिएन ?    - रत्ननिधि रेग्मी
नेपालमा सबैभन्दा गएगुज्रेको हालतमा रहेको ज्योतिर्विज्ञान र कर्मकाण्ड हुन् । ज्योतिषशास्त्र एक वैज्ञानिकशास्त्र हो । प्राचीनकालमा ग्रह र ग्रहको अवस्थाबाट रोग पत्ता लगाउने र निदानको उपाय बताउने गरिन्थ्यो । यस शास्त्रभित्र भएका अकाट्य वाक्य र वैज्ञानिक तथ्यले आजसम्म जीवित भइआएको विद्या हो । संसारमा सबैभन्दा प्रामाणिक शास्त्र वेद र वेदको पनि आँखा ज्योतिष शास्त्रलाई मानिएको छ ।

मयले ग्रीकमा ज्योतिषशास्त्रको भरपूर विकास गरे । मयलाइ महाअसुर पनि भन्दछन् । उनी भृगु ऋषिका मध्यम पुत्र हुन् । भृगुका जेठी पत्नी ख्याति अग्निमा होमिएर मरेपछि हिरण्यकशिपूकी जेठी छोरी दिव्यादेवीसित भृगुको दोस्रो विवाह भयो । यीबाट शुक्र र त्वष्टा अर्थात् मय दुई पुत्र भए । विष्णु र हिरण्यकशिपूको राज्यसम्बन्धी विवादले हिरण्यकशिपूलाई विष्णुले मारे, छोरी होलिकालाई पनि जलाइदिए, त्यसपछि विष्णुले एकान्त मौका पारी दिव्यादेवीलाई पनि मारिदिए भने प्रह्लादचाहिँ विष्णुका दलाल भएकाले राजा बने । शुक्रले आचार्य पास गरेपछि शुक्राचार्य भए भने त्वष्टा याने मयले पिताबाट ज्योतिज्र्ञान लिएर वैज्ञानिक भए । उनले यति विद्या पढे कि ग्रह लाघवंले त ‘मयाया सविता स्वयं’ भनेर लेखेको छ । दिव्यादेवी मारिएपछि भृगुले लोमश ऋषिकी छोरीसित तेस्रो विवाह गरे । उनीबाट च्यवन ऋषि जो आयुर्वेदका ज्ञाता जन्मिए । विष्णुको आतङ्कले फारसबाट भागेर भृगु भारत आइबसे भने शुक्राचार्य चौधै विद्यामा पारङ्गत भई अजेय बनेकाले इन्द्रपुत्री जयन्तीसित विवाह गरी बसे, मय ग्रीक राज्यका प्रमुख आचार्य भइबसे र च्यवनचाहिँ नेपालको लमजुङमा आई औषधि पत्ता लगाएर चेपे नदीकिनारामा आश्रम बनाइ बसे । मयले छोरी मन्दोदरीलाई सम्पूर्ण विद्या पढाएर विदूषी बनाए । पछि रावणले शास्त्रार्थमा हराएकाले उनको विवाह रावणसित भयो । रावण आफ्नो समयका सबभन्दा विद्वान् र वीर थिए । उनका अगाडि संसारका महावीर पनि झुक्थे ।

ज्योतिषशास्त्र मय, रावण, कुम्भकर्ण हुँदै दशौँ हजार वर्षदेखि विकास हुँदैआएको भए पनि यसभित्र अनेकन विकृति आएकाले छैटौँ शताब्दीमा बराहमिहिर, एघारौं शताब्दीमा भास्कराचार्यले विकृति विरुद्ध अभियान चलाए । बराहमिहिरले त कतिसम्म लेखेका छन् भने गणितागत आउने बाहेक सबै भूmट र ठगी हुन् । बराहमिहिर स्वयं आर्य भट्टका शिष्य हुन् । यिनीहरू पाँचौँ र छैटौं शताब्दीका हुन् । बराहमिहिरले हरेक फल गणितमा आधारित बनाएका छन् । यथार्थमा जसले बराहमिहिर पढेको छैन त्यो ज्योतिष नै होइन । काइते कुरा ज्योतिषविद्या होइन, त्यो त केवल ठगी मात्र हो । हाम्रो देशमा ज्योतिष पढेका भनिएका नयराज पन्त, डा. केशवराम जोशी, डा. साम्बराज आचार्यजस्ता केही व्यक्तिहरू मात्र छन् । बाटामा साइनबोर्ड राखेर बसेका, माता बनेर फलादेश गर्दै हिँड्ने या बाबा बन्ने जति सबै ज्योतिषका नाममा ठगी गर्नेहरू हुन् । बराहमिहिरले भनेका छन्, यस्तालाई राज्यले देश निकाला गर्नुपर्छ । कर्मकाण्डमा त झन् भद्रगोल छ । संस्कृत नजानेका यसो श्लोक कण्ठ पारेर जजमानी गर्ने त महाठगै हुन् । हाम्रो समाज अपराधी बन्नुमा यस्ता ठगहरूलाई सम्मान गर्नाले भएको हो । वेदका श्लोकका अर्थ नजान्नेले आपूmलाई ब्राह्मण भन्नु, अझ कर्मकाण्ड गर्दै हिँड्नु अनि त्यस्तालाई दान दिएर माथि उकाल्नु यो समाजको सबभन्दा ठूलो फट्याइँ हो । यो फट्याइँ रहेसम्म भ्रष्टाचारको अन्त्य कहिल्यै हुँदैन । खासमा मैले यति भन्नुमा बालेन्द्र साहलाई फेरि कसले खाल्डामा हालन यस्तो गलत साइत दियो ? या उनले आपैmँले यो समय तय गरे ? उनको जन्मकालीन राशि वृष हो । चैत्र १३ गते बिहान ९ बजेर ५४ मिनेट जाँदा कर्कट राशिमा चन्द्रमा जान्छन् भने १२।३४ को समय मिथुन लग्न दशममा शनि र सूर्य, सूर्य जनमकालमा वक्री बुधसित बसेकाले राजयोग भङ्गयोग भएको ग्रहको कारक ग्रह शनिसित बस्दा राज्यविग्रहको योग बनाउँछ । राशिबाट विद्ध याने तृतीय स्थानमा चन्द्रमा (राज्यकृपा) रहने हुँदा तथा राशिबाट दशम मंगल र बुध, बारौँ शुक्र हुँदा राज्य निरन्तरता भङ्गयोग बन्नपुगेको छ । यस्तो योग कसले बनाइदियो । म लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति हुँ । म जनमतको सम्मान गर्छु । उनले प्र.मं. कै लागि भनेर भारी मत ल्याए । त्यसका लागि उनलाई बधाइ दिन्छु, उनको सफलताको कामना गर्छु तर उनलाई कसैले गिराउन वा असफल बनाउन किन यस्तो प्रपञ्च रच्यो ? मलाई आश्चर्य लागेको छ । कर्कमा चन्द्रमा भन्नुको अर्थ हो राज्यकृपाकारक चन्द्रमा चर् राशिमा रहँदा किन शपथ ग्रहणको साइत निकालियो ? उनको जन्मकालको चन्द्रमा स्थिर राशिको हो । चर्को अर्थ बदलिइरहने त्यसको गुण हो । प्रधानमन्त्री जस्तो पद बदलिइरह्यो भने नतिजा कस्तो आउला ? यसतर्फ किन सोचिएन ?
महाकवि देवकोटा आश्रम, काठमाडौँ ।
साभार -रत्ननिधि रेग्मीकाे मुहार पुस्तिका