काठमाडौं । दुई साता पनि नबित्दै पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएकाे छ । नेपाल आयल निगम ले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो।
यसअघि निगमले यही चैत १ गते मूल्य समायोजन गरेको थियो। तर, छोटो अवधिमै पुनः मूल्य बढाइएपछि उपभोक्तामा असन्तुष्टि बढेको छ। विगतमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक अङ्ग्रेजी महिनाको १ र १५ तारिखमा मूल्य समायोजन गर्दै आएको थियो।
नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल तथा मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकिएको छ। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा, सुर्खेत र दाङलाई दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढिरहेका कारण आन्तरिक बजारमा पनि मूल्य समायोजन गर्नुपरेको हो। मार्च १ देखि २४ तारिखसम्म खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँसम्म मूल्य वृद्धि भएको जनाएको छ।
नेपालपत्र संवाददाता