काठमाण्डौ । बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले रु. ४० अर्ब बराबरको निक्षेप संकलन उपकरणमार्फत रकम उठाउने भएको छ। यसका लागि राष्ट्र बैंकले २१ दिन अवधिको निक्षेप संकलन बोलकबोलमार्फत निष्काशन गर्ने सूचना प्रकाशित गरेको हो।
सूचना अनुसार, उक्त बोलकबोल दिउँसो ३:०० बजेसम्म अनलाइन प्रणालीमार्फत मात्र हुनेछ। सोही दिन नै उपकरण निष्काशन गरिनेछ भने संकलित रकमको साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २ गते गरिनेछ।
बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरमा सहभागी संस्थाहरूले प्रतिस्पर्धात्मक रूपमा प्रस्ताव पेश गर्नुपर्नेछ। एउटै संस्थाले फरक–फरक ब्याजदरमा बहुबोलकबोल गर्न सक्ने सुविधा पनि दिइएको छ। न्यूनतम रु. १० करोडदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ, जसमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी रकम प्रस्ताव गर्नुपर्ने प्रावधान राखिएको छ।
यस निक्षेप संकलन उपकरणलाई धितोको रूपमा अन्य बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्न सकिने व्यवस्था समेत गरिएको राष्ट्र बैंकले जनाएको छ। बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
नेपालपत्र संवाददाता