शनिबार, आश्विन १७ गते २०८३

सहकारी अभियानका नीतिगत र कानुनी समस्याहरु समाधान गर्न सरकार तयार छः मन्त्री श्रेष्ठ

मंसिर ३, २०७८ शुक्रबार
सहकारी अभियानका नीतिगत र कानुनी समस्याहरु समाधान गर्न सरकार तयार छः मन्त्री श्रेष्ठ

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको छ ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहकारी तथा सहकारी अभियानका नीतिगत र कानुनी समस्याहरु समाधान गर्न सरकार तयार रहेको बताइन् ।

सहकारीहरु सिद्धान्तहरु बाट निर्देशित हुनुपर्नेमा जोड दिदैँ उनले अभियानको बढ्दो लोकप्रियतासँगसँगै देखिएका केही समस्याहरु समाधानका लागि अभियानसँग सहकार्य र साझेदारी गर्न सरकार तयार रहेको बताइन् ।

मन्त्री श्रेष्ठले सहकारीहरु उत्पादनमा नभई बचत ऋण कारोबारमा बढी केन्द्रीत भएको र वित्तीय सुशासनमा केही संवेदनशील समस्याहरु देखापरेको भन्दै संविधानले मान्यता प्रदान गरेको क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउने जिम्मेवारी सरकार र नेफ्स्कून लगायत अभियानको भएको जनाइन् ।

‘उत्पादन र उत्पादकत्व क्षेत्रमा सहकारी जोडिनुपर्छ, समृद्धिको यात्रामा राज्यसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ ।‘ सहकारी अभियानको विकासका लागि मन्त्रालयले भिजन पेपर तयारीको काम अघि बढाएको जानकारी गराउँदै उनले छिट्टै अभियान तथा सरोकारवाहरुसँग छलफल गरेर पृष्ठपोषणसहित भिजन पेपरलाई निष्कर्ष दिइने बताइन् ।

वित्तीय जोखिम न्यूनीकरण, संस्थागत सुशासन कायम गर्ने दिशामा राज्य र सहकारी अभियानसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको समेत उनले प्रष्ट पारिन् ।

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले नेफ्स्कून अब परिपक्व संघ भएको बताउँदै सहकारीका मुद्दाहरुलाई संस्थागत गर्ने काममा यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । अब स्थायित्व र दिगो मर्यादित बनाउने तर्फ साझा चिन्तन आवश्यक भएकोमा उनले जोड दिए । 
रजिष्ट्रार अधिकारीले साकोसहरुको सशक्तिकरण, उद्यमशीलता प्रवर्धन, नेतृत्व विकास आदि काममा सहकारी र साकोस अभियानको एकदमै महत्वपूर्ण योगदानको करदार गर्न सरकारले कुनै कञ्जुस्याइँ नगरेको जनाए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सरकार र अभियानबीचको सहकार्यमा यस क्षेत्रलाई सुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । साकोस अभियानको मुख्य विषय स्तरीकरण र स्थिरीकरण भएको बताउँदै उनले कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, साकोस ऐनको आवश्यकतामा पनि बिशेष जोड दिए ।

सभामा बोल्दै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष केबी उप्रेतीले मुलुकको अग्रणी संघ नेफ्स्कून भएको चर्चा गर्दै अभियान र सरकार मिलेर सहकारी क्षेत्रमा देखिएका समस्या र विकृतिहरु समाधान गर्न संयुक्त रुपमा लाग्नुपर्नेमा जोड दिए ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले चुनौतीका बेला सहकारी तथा साकोस अभियानको मर्म र गौरब झनै स्थापित भएको दाबी गरे । 

नेफ्स्कुनले ‘सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य’ को नारासँगै सामाजिक तथा आर्थिक कृयाकलापमा संघ संस्थाहरु अघि बढ्नुपर्छ भनेर नेफ्स्कूनले विभिन्न व्यावसायिक निरन्तरताको योजना लगायत रणनीतिक योजनाहरु अघि सारेको उनले बताए ।

अध्यक्ष पौड्यालले नेफ्स्कूनले डिजिटल फाइनान्सको कुरा अघि सारेको, सामाजिक पुँजीको परिचालनलाई प्राथमिकतामा राखेको समेत जनाए । 
वित्तीय सुशासनको अभावमा संस्थाहरु असफल भएको स्वीकार्दै उनले कुलश व्यवस्थापन र प्रभावकारी सञ्चालनका लागि राज्यपक्षबाट हुने नियमनको अभावले समस्या बल्झने गरेको उनको भनाई थियो ।

तीनै तहका सरकारहरुले तयार गरेका सहकारी ऐन नियमहरुबीच सामञ्जस्यता नभएकोले सहकारीहरल्े समस्या झेल्नुपरेको उनले जनाए । 
नेफ्स्कुनका महासचिव दामोदर अधिकारी आ.व. २०७७।७८ को वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष दिपक पनेरुले संघको वास्तविक आयव्यव विवरण सभामा प्रस्तुत गरेका थिए ।

गत असार मसान्तसम्म नेफ्स्कुनको शेयरपुँजी १ अर्ब ४५ करोड ८७ लाख, विभिन्न कोषहरुमा ५७ करोड ६ लाख, कुल बचत २१ अर्ब ७९ करोड ५२ लाख, ऋण लगानी ११ अर्ब ६६ करोड २८ लाख रहेको छ ।