बुधबार, भाद्र ३ गते २०८३

महासंघमा दुई प्यालन भिड्दै, उम्मेदवारी घोषणा संगै चुनावी सरगर्मी


चैत्र १०, २०८२ मंगलबार
महासंघमा दुई प्यालन भिड्दै, उम्मेदवारी घोषणा संगै चुनावी सरगर्मी

 

काठमाण्डाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने भएको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको नयाँ नेतृत्व चयन हुने भएकाले यसपटकको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ।

विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भइसकेको छ। यससँगै अन्य पदहरू—विशेषगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कार्यकारिणी सदस्यहरूका लागि प्रतिस्पर्धा हुने भएको छ।

अञ्जन श्रेष्ठको टिमले हालै उपाध्यक्ष तथा कार्यसमिति सदस्यहरूको उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दै चुनावी अभियान तीव्र बनाएको छ। उक्त समूहले निजी क्षेत्रमैत्री नीति, लगानी प्रवर्द्धन र आर्थिक सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएको जनाएको छ। टिममा वस्तुगततर्फ शिवप्रसाद घिमिरे, एसोसिएटतर्फ प्रवलजंग पाण्डे तथा जिल्ला–नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा उपाध्यक्षका उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्षमा भने कसैलाई घोषणा गरिएको छैन ।

यता, हेमराज ढकाल नेतृत्वको टिमले भने यसअघि नै आफ्नो प्यानल सार्वजनिक गरिसकेको छ। ढकाल समूह उत्पादनमुखी अर्थतन्त्र, साना तथा मझौला उद्यमको प्रवर्द्धन र निजी क्षेत्र सुदृढीकरणका मुद्दासहित चुनावी मैदानमा उत्रिएको छ। 

ढकालको प्यानलबाट उपाध्यक्षको प्रत्याशीमा ज्योत्सना श्रेष्ठ रहेकी छिन्। त्यसैगरी, एसोसिएट उपाध्यक्ष पदमा उमेश डालमियाले उम्मेदवारी दिने भएका छन्। त्यस्तै, जिल्ला नगर उपाध्यक्षतर्फ ढकालको टिमबाट कल्पना गैरे र नरेशलाल श्रेष्ठ उम्मेदवार बनेका छन्।उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् । आगामी निर्वाचनमा यो समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेको छ। 

निर्वाचन तालिकाअनुसार मनोनयन दर्ता, प्रचारप्रसार र मतदानका प्रक्रिया साधारण सभासँगै सम्पन्न हुनेछन्। नयाँ नेतृत्वले मुलुकको वर्तमान आर्थिक चुनौती, लगानी वातावरण सुधार, उच्च ब्याजदरलगायत निजी क्षेत्रका समस्यामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एफएनसीसीआई नेपालका उद्योगी–व्यवसायीहरूको प्रतिनिधित्व गर्ने प्रमुख छाता संगठन हो, जसले निजी क्षेत्रको हित संरक्षण, नीति निर्माणमा सहकार्य, लगानी प्रवर्द्धन तथा औद्योगिक विकासमा सहजीकरण गर्ने उद्देश्य राख्छ। महासंघले सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्दै समग्र आर्थिक विकास, रोजगारी सिर्जना र प्रतिस्पर्धी अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउँदै आएको छ।