शुक्रबार, कार्तिक ७ गते २०८३

लघुवित्त सम्मेलनको ९ बुँदे घोषणापत्र: नाफामुखी भएको आरोपबीच सुधार र रूपान्तरणको संकल्प

चैत्र १०, २०८२ मंगलबार
लघुवित्त सम्मेलनको ९ बुँदे घोषणापत्र: नाफामुखी भएको आरोपबीच सुधार र रूपान्तरणको संकल्प

काठमाण्डाैं । लघुवित्त संस्थाहरू मूल्य, मान्यता र सिद्धान्तबाट विचलित भई नाफामुखी बनेको आरोप लागिरहेका बेला लघुवित्तकर्मीहरूले आर्थिक रूपान्तरणमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गर्दै सुधार, पारदर्शिता र सदस्यकेन्द्रित सेवामा जोड दिएको हो।

घोषणापत्रमा विद्यालयस्तरमै ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने, युवालाई स्वरोजगारमुखी सीप तथा आयमूलक तालिम प्रदान गर्ने, व्यावसायिक परामर्श र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उल्लेख छ। सदस्यसँगको व्यवहारलाई मर्यादित, पारदर्शी र सम्मानजनक बनाउँदै सेवा प्रवाहलाई जिम्मेवार बनाउने प्रतिबद्धता पनि गरिएको छ।

यसैगरी, हरित वित्तीय कार्यक्रममार्फत युवालाई परिचालन गर्ने, ‘तीन शून्य क्लब’ (शून्य गरीबी, शून्य बेरोजगारी, शून्य कार्बन) गठन गर्ने तथा प्रत्येक संस्थाले कम्तीमा एक वातावरणमैत्री गाउँ निर्माणमा पहल गर्ने लक्ष्य राखिएको छ। दिगो उत्पादन र हरित उद्यमलाई प्रवर्द्धन गर्ने योजना पनि समेटिएको छ।

डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै लघुवित्त सेवालाई सरल, सुरक्षित र पहुँचयोग्य बनाउने तथा सदस्यहरूमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने घोषणापत्रमा उल्लेख छ। साथै, आर्थिक–सामाजिक प्रभाव मापनका लागि मापदण्ड विकास गरी वार्षिक मूल्यांकन गर्ने र निष्क्रिय सदस्यलाई पुनः सक्रिय बनाउने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

ऋण मिनाहा जस्ता भ्रमबाट टाढा रहन सदस्यहरूलाई सचेत गराउने प्रतिबद्धता पनि गरिएको छ। सम्मेलनले विगतका अनुभव र वर्तमान चुनौतीहरूको समीक्षा गर्दै गरीबी, बेरोजगारी र वातावरणीय समस्या समाधानमा लघुवित्त क्षेत्रको भूमिका सुदृढ गर्ने निष्कर्ष निकालेको छ।