अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सडक विस्तार कार्य ६७ प्रतिशत सम्पन्न भएको छ। तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर सडकलाई दुई लेनबाट छ लेनमा विस्तार गर्ने आयोजना हाल थपिएको समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको छ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार सडकलाई छ लेनमा विस्तार गर्ने क्रममा दायाँबायाँ दुई सर्भिस लेन तथा करिब २.५ मिटर चौडाइका फुटपाथ निर्माण भइरहेको छ। आयोजनाको मूल समयावधि सकिएपछि गत मङ्सिर अन्तिमसाता एक वर्ष म्याद थप गरिएको थियो।
आयोजनाअन्तर्गत सडकलाई सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरी काम भइरहेको छ। साँगा–धुलिखेल (८ किमी) खण्डमा हालसम्म करिब ६०–६५ प्रतिशत प्रगति भएको छ। यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लिएको थियो। निर्माण कम्पनीका अनुसार पिचबाहेक भौतिक प्रगति भने करिब ९० प्रतिशत पुगेको छ।
यस्तै, सूर्यविनायक–साँगा (७.५ किमी) खण्डमा करिब ५५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ‘सेन्टर लाइन’ विवादका कारण लामो समय अवरुद्ध भएको यस खण्डमा पछिल्लो समय कामले गति लिएको छ। अहिले विभिन्न स्थानमा सडक चौडा बनाउने, संरचना हटाउने, पर्खाल, नाली तथा कल्भर्ट निर्माण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ।
सडक विस्तार अन्तर्गत पर्ने तीन पुलमध्ये महादेव खोलामा पुल निर्माण कार्य भइरहेको छ भने अन्य दुई पुलको डिजाइन सम्बन्धी विवाद समाधान भई निर्माणको तयारी अघि बढाइएको छ।
नेपालपत्र संवाददाता