शुक्रबार, कार्तिक ७ गते २०८३

युद्धमा खर्चले बढ्याे अमेरिकी राष्ट्रिय ऋण, ३९ ट्रिलियन डलर माथि


चैत्र ५, २०८२ बिहीबार
युद्धमा खर्चले बढ्याे अमेरिकी राष्ट्रिय ऋण, ३९ ट्रिलियन डलर माथि

संयुक्त राज्य अमेरिकाको कुल राष्ट्रिय ऋण (नेशनल डेब्ट) पहिलो पटक ३९ ट्रिलियन डलर नाघेको छ। अमेरिकी ट्रेजरीको आधिकारिक तथ्याङ्कअनुसार, मार्च १७, २०२६ सम्ममा यो ऋण ३९.०१७ ट्रिलियन डलर पुगेको छ, जुन प्रति अमेरिकी नागरिक करिब १ लाख १६ हजार ५०० डलर बराबर पर्न जान्छ । 

यस्ताे ऋण पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ। दैनिक रूपमा करिब ७–८ अर्ब डलरले वृद्धि भइरहेको यो ऋण वार्षिक रूपमा २.६ ट्रिलियन डलरभन्दा बढीले थपिने अनुमान गरिएको छ। विशेषतः २०२५ अक्टोबरमा ३८ ट्रिलियन डलर नाघेको ऋण केही महिनामै ३९ ट्रिलियन पुगेको हो, जसले वृद्धि दर अत्यन्त तीव्र भएको संकेत गर्दछ।

युद्ध खर्च मुख्य कारण

विश्लेषकहरूका अनुसार इरानसँगको युद्धले अमेरिकी ऋण वृद्धि तीव्र बनाएको छ। अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सुरु भएको केही सातामै ठूलो सैन्य खर्च भएको छ। पेन्टागनका अनुसार युद्धको पहिलो हप्तामै करिब ११.३ अर्ब डलर खर्च भएको छ। पेन्टागनले ह्वाइट हाउससँग २०० अर्ब डलरभन्दा बढीको अतिरिक्त बजेट माग गरेको छ। उक्त रकम युद्ध सञ्चालन तथा सैन्य सामग्री पुनःस्थापनाका लागि आवश्यक रहेको बताइएको छ, यद्यपि अमेरिकी काँग्रेसमा यसबारे मतभेद देखिएको छ।

युद्धका कारण होर्मुज जलडमरूमध्य प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। यसको प्रत्यक्ष प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको छ । त्यसले इन्धनको मूल्य वृद्धि, उपभोग्य वस्तु तथा सेवाको लागतमा वृद्धि लगायतकाे दवा पर्नेछ । 

बढ्दो ऋण र युद्ध खर्चको प्रभाव अमेरिकी नागरिकले प्रत्यक्ष रूपमा खेप्न थालेका छन् । घर, सवारीसाधन वा व्यवसायिक ऋण महँगो बन्दै गएको छ भने लगानी घट्दा राेजगारीका अवसर गुम्ने अवस्था बनेकाे छ । ऋणकाे वार्षिक ब्याज भुक्तानी १ ट्रिलियन डलर नाघिसकेको छ जाे अमेरिकी रक्षा बजेटभन्दा बढी हाे। 

अमेरिकी राष्ट्रिय ऋणको यो ऐतिहासिक वृद्धि केवल आर्थिक तथ्य मात्र नभई दीर्घकालीन वित्तीय स्थायित्वका लागि चुनौतीका रूपमा देखिएको छ। विशेषगरी युद्ध खर्च, ऊर्जा मूल्यवृद्धि र आन्तरिक आर्थिक दबाबले आगामी दिनमा अमेरिकी अर्थतन्त्र थप जटिल अवस्थामा पुग्ने संकेत देखिएको छ।