बुधबार, भाद्र ३ गते २०८३

खाडी युद्धको असर: पेट्रोलमा १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ भाउ बढ्यो


चैत्र २, २०८२ सोमबार
खाडी युद्धको असर: पेट्रोलमा १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ भाउ बढ्यो

 

काठमाडौं । खाडी क्षेत्रमा बढेको युद्धजन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उकालो लागेपछि नेपालमा पनि इन्धनको मूल्य बढाइएको छ।

नेपाल आयल निगम ले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ। नयाँ मूल्य आइतबार बिहान १ बजेदेखि लागू गरिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

निगमका अनुसार खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र पेट्रोलियम पदार्थको मूल्य बढेको छ। सोहीअनुसार भारतको भारतीय आयल निगम (आईओसी) ले पनि नेपाललाई पठाउने नयाँ मूल्यसूचीमा उल्लेख्य वृद्धि गरेर पठाएको छ।

आईओसीबाट प्राप्त मूल्यअनुसार अझै बढी दरले मूल्य बढाउनुपर्ने अवस्था भए पनि उपभोक्तामा पर्ने भार कम गर्न निगमले मूल्य स्थिरीकरण कोषबाट केही रकम व्यहोरेर सीमित मात्रामा मूल्य वृद्धि गरेको जनाएको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको खुद्रा मूल्य पहिलाे वर्गका क्षेत्रमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा पुगेको छ भने तेश्राेमा १७२ सम्म रहेकाे छ । त्यतै  डिजेल/मट्टितेल प्रतिलिटर १४९ रूपैया पचास पैसा देखि तेश्राे वर्गमा १५२ रुपैयाँ कायम गरिएको छ। 

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहेका कारण पूर्ण रूपमा समायोजन नगर्दा संस्थालाई अझै मासिक करिब ३ अर्बभन्दा बढी घाटा हुने अवस्था रहेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै आन्तरिक बजारमा पनि मूल्य घटाउने प्रतिबद्धता जनाएको छ।

युद्धजन्य परिस्थितिले विश्व ऊर्जा बजार अस्थिर बन्दा यसको प्रभाव नेपालजस्ता आयातमा निर्भर मुलुकमा प्रत्यक्ष देखिएको अर्थविद्हरू बताउँछन्।