शुक्रबार, कार्तिक ७ गते २०८३

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज २० अर्ब निक्षेप खिच्दै


चैत्र १, २०८२ आइतबार
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज २० अर्ब निक्षेप खिच्दै

 

काठमाडौं । बैंकिङ प्रणालीमा कायम अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक ले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै आज (चैत्र १) २८ दिन अवधिको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान गरेको हो।

सूचना अनुसार उक्त उपकरणमार्फत २० अर्ब रुपैयाँ संकलन गरिनेछ। बैंक तथा वित्तीय संस्थाले चैत १ गते दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। उक्त निक्षेप उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी मिति चैत २९ गते तोकिएको छ।

बैंकिङ प्रणालीमा पछिल्लो समय निक्षेप उच्च रहेको तर कर्जा लगानी विस्तार सुस्त हुँदा अधिक तरलता कायम छ। यही तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले समय–समयमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता तान्दै आएको छ।

विशेषगरी पछिल्ला महिनाहरूमा बैंकहरूले कर्जा विस्तार गर्न नसक्दा प्रणालीमा तरलता बढ्दै गएको छ। यसैका कारण निक्षेपमा ब्याजदर घट्ने क्रम जारी रहँदा केन्द्रीय बैंकले तरलता सन्तुलन कायम गर्न यस्तो उपकरण प्रयोग गर्दै आएको हो।