काठमाडौं । नेपाली वित्तीय प्रणालीमा झन्डै दुई वर्षदेखि कायम अधिक तरलता र कर्जा विस्तार सुस्त हुँदा वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर निरन्तर घटाउँदै आएका छन् । कर्जा माग अपेक्षाअनुसार बढ्न नसकेपछि बैंकहरूमा थुप्रिएको तरलता व्यवस्थापन गर्न बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाउने प्रवृत्ति अझै जारी रहेको छ ।
यही क्रमलाई निरन्तरता दिँदै चैत १ गतेदेखि लागू हुने गरी ६ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १४ बैंकले अघिल्लो महिनाकै दरलाई स्थिर राखेका छन् ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार चैत महिनाका लागि व्यक्तिगततर्फ मुद्दती निक्षेपको औसत ब्याजदर ०.०८ प्रतिशत बिन्दुले घटेर ४.४९ प्रतिशतमा झरेको छ । फागुन महिनामा यस्तो औसत दर ४.५७ प्रतिशत थियो ।
त्यस्तै संस्थागत निक्षेपतर्फ पनि ब्याजदर घटेको छ । चैतमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०४ प्रतिशत बिन्दुले घटेर ३.२९ प्रतिशतमा झरेको छ । फागुनमा यस्तो दर औसत ३.३३ प्रतिशत रहेको थियो ।
चैतका लागि ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
यस्तै एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
बैंकिङ प्रणालीमा लामो समयदेखि कर्जा माग कमजोर रहँदा निक्षेपको तुलनामा कर्जा लगानी बढ्न सकेको छैन । यही कारण बैंकहरूमा अधिक तरलता थुप्रिँदै गएको छ । तरलता व्यवस्थापनको दबाबका कारण बैंकहरूले निक्षेप आकर्षण कम गर्ने उद्देश्यले ब्याजदर क्रमशः घटाउँदै आएका छन् ।
अर्थतन्त्रमा लगानी विस्तार सुस्त रहँदा र निजी क्षेत्रको कर्जा माग कमजोर रहँदा आगामी महिनाहरूमा पनि बैंकहरूको निक्षेप ब्याजदर घट्दो वा स्थिर रहने सम्भावना देखिएको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।
नेपालपत्र संवाददाता