काठमाडाैं । प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेलले नीति निर्माण तहमा सहकारी प्रति साझा बुझाई नभएको बताएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले आयोजना गरेको ३९औं स्थापना दिवसमा विशेष अतिथिको रुपमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पौडेलले मुलुकमा सहकारीहरुले राम्रा काम गरेका छन् भन्ने कुरा नीति निर्माताहरुलाई बुझाउन आवश्यक रहेको उल्लेख गरिन् ।
सहकारीले कुल गार्हस्थ उत्पादन, राजश्व, रोजगारी सृजना, सिमान्तकृत समुदायको परिवर्तन, महिला नेतृत्व र सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा योगदान गरेको छ भन्ने कुरा बुझाउन नसक्नु अभियानको कमजोरी भएको उल्लेख गरिन् । उनले थपिन्,‘जसले गर्दा ऐन, नियम बन्दा सहकारी क्षेत्रले गरेका राम्रो पक्षको भन्दा पनि बचत अपचलन गरेको र ३२ हजार सहकारीमा कति समस्याउन्मुख र कति समस्याग्रस्त छन् भनेर मात्र चर्चा छलफल हुन्छ । त्यस्तो भ्रमलाई अभियानले चिर्न आवश्यक छ ।’ संघहरुले गर्दै आएको वित्तीय कारोबारमा पनि संस्था सुशासन र जोखिमको विषयलाई लिएर धेरै छलफल भएको र अन्तिम विकल्पको रुपमा तीन बर्षभित्र नयाँ बैंक बन्ने वा हालको सहकारी बैंकमा मर्ज हुन सक्ने गरी कानुनी व्यवस्था गरिएको उनले स्पष्ट पारिन् । सहकारीमा स्वःनियमनको पाटो मर्न हुँदैन र संघहरुलाई छनोट गर्ने अधिकार दिनुपर्छ भनेर ऐनमा यो व्यवस्था गरिएको उनले जनाइन् ।
दक्षिण एसियाकै अब्बल सहकारी संस्था पनि नेपालमा रहेको भन्दै उनले सहकारीका नीति निमार्णकर्तालाई ‘बेष्ट प्राक्टिस’ के हो भनेर बुझाउन आवश्यक रहेको जनाइन् । असल अभ्यासहरुलाई अन्य सहकारीले पनि लागु गर्न सक्ने भन्दै उनले जापान, कोरिया, युरोप लगायतका देशमा सहकारी मार्फत् भएका असल अभ्यासलाई समेत अनुशरण गर्न सकिने उल्लेख गरिन् । ‘सहकारीमार्फत् ती देशले कसरी आर्थिक क्रान्ति गरे तर नेपालमा भने सधैं सहकारी भन्नासाथ किन समस्याको दृष्टिकोणबाट मात्रै हेरिन्छ? त्यसतर्फ ध्यान जान आवश्यक छ, अहिले अभियानलाई कुन दिशामा लैजान भने निर्णय लिने सही समय आएको छ, यसलाई सदुपयोग गर्न र आफ्नै संघबाट रुपान्तरणको काम थाल्नुपर्छ ’ उनले भनिन् । सरकारले बचत तथा ऋण सहकारीका लागि छुट्टै प्राधिकरण ऐन बनाउन लागेकाले त्यसमा अभियानको तर्फबाट सही सुझाव दिन उनले सुझाईन् ।
ऐनले सहकारीमा नातागोताका दायरा बढाएकाले ऋण उठ्ने क्रम बढे पनि दीर्घकालिन समाधान त्यो नभएको उनको भनाई छ । प्रातिनिधि सभाको विशेष समय, शुन्य समय र अन्य छलफलका कार्यक्रममा सहकारीका विषयमा आवाज उठाउँदै आएको उनले उनले जनाइन् । राम्रा संस्थालाई अगाडि बढाउन र गलत गर्ने सहकारीलाई सही मार्गमा ल्याउन सबैले पहल गर्नुपर्ने उनको भनाई छ । कतिपय सहकारीले उदेश्य बाहिर जथाभावी ऋण लगानी गरेकाले समस्या आएको भन्दै विगतमा नियमन समेत प्रभावकारी हुन नसकेको उनले जनाइन् । अहिले सरकारले बचत फिर्ताको कार्यविधि बनाउने, ऐन संशोधन र अन्य थुप्रै ऐन समेत परिवर्तन गर्न लागेकाले छलफल भागमा लिन र नीति संवाद चलाउन उनले सुझाव दिइन् ।
सहकारीले समाजमा केकस्ता योगदान गर्न सकेको छ भनेर सरकारलाई देखाउन नसक्नु कमजोरी भएको उनको भनाई छ । उत्पादनमूलक क्षेत्रमा काम गर्ने र बचत ऋणको कारोबार गर्ने सहकारीलाई कस्तो ऐन चाहिन्छ भन्ने विषयमा पनि अभियानले छलफल चलाउन उनको आग्रह छ । सदस्यले सहकारीमा बर्षौ कमाएर बचत गरेको रकम फिर्ता हुन नसकेको भन्दै जुन उदेश्यका लागि संघसंस्थाहरु स्थापना भएका हुन्, त्यहि उदेश्य पुरा गर्न लाग्नुपर्नेमा उनको जोड छ । सहकारीमा धेरै राजनीतिकरण भएको भन्दै अब सदस्यहरुलाई प्राथमिकतामा राखी वित्तीय पहुँच अभिवृद्धि, आर्थिक सशक्तिकरण र सदस्यको सेवाको विषयमा सञ्चालक र व्यस्थापनले सोच्न सके सुशासन त्यहिँबाट सुरु हुने उनले प्रष्ट पारिन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका असल अभ्यासलाई नेपालका सहकारीमा आन्तरिकीकरण गर्ने काम नेफ्स्कूनले गरेको बताए । सहकारी क्षेत्रको नीतिगत सुधारका लागि बहसपैरवीका साथै सदस्यहरुको जीवनस्तर परिवर्तन ल्याउन खेलेको भूमिका सराहनिय रहेको उनले जनाए । बचत ऋण सहकारीमा नेफ्स्कूनले असल अभिभावकत्व निर्वाह गर्दै आएको भन्दै महतोले परिर्वतित नीतिगत व्यवस्थाले संघहरुको हकमा दिशानिर्देश गरेको र सोही अनुसार अघि बढ्न उनको आग्रह छ । देशको कानुन अनुसार नेफ्स्कूनले आफुलाई परिमार्जित गर्दै जानुपर्ने भन्दै उनले कुन विकल्प उपयुक्त हुन्छ, त्यसलाई रोज्न सकिने उनले जनाए । जुनसुकै भूमिकामा नेफ्स्कून रहे पनि बचत ऋण सहकारी अभियानलाई व्यवस्थित गर्न लागि रहनेमा आफु विश्वस्त रहेको उनले सुनाए ।
त्यसैगरी, सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बाबुराम गौतमले संशोधित ऐन अनुसार संघहरु अगाडि बढ्नुपर्ने बताए । बचत ऋण सहकारी संस्थाहरुमा संस्थागत सुशासन कायम गराउन र असल अभ्यासहरु आदानप्रदान गर्ने काममा नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ । सन्दर्भ ब्याजदर पुनरावलोकन र संघहरुले गर्दै आएको वित्तीय कारोकारलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कार्यालयले छलफल थालेको उनले जनाए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले बचत ऋणको कारोबार जोखिमको कारोबार भएको जनाए । जोखिमको कारोबार गर्ने संघसंस्थामा सोही अनुसारको व्यवस्थापकिय क्षमता, निर्णय क्षमता, टिम निर्माण र कार्ययोजना तर्जुमा गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । सदस्यहरुको आर्थिक तथा सामाजिक विकास लागि सोही अनुसारको कार्ययोजना अनाउन आवश्यक रहेको भन्दै उनले संकटमोचन गर्न सक्ने क्षमताका सााथ नेफ्स्कूनलाई अगाडि बढाउन शुभकामना दिए । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको सभापतित्वमा कार्यक्रम भएको थियो । 
नेपालपत्र संवाददाता