काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित गर्न ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रिया अनुसार ग्यास बिक्री गर्ने व्यवस्था मिलाइएको जनाएको छ। विभिन्न स्थानमा बिक्री केन्द्र तोकेर उद्योगबाटै ग्यास बिक्री गर्न थालेपछि ग्यास विक्रेता महासङ्घले भने स्थानीय विक्रेतामार्फत वितरण गर्न माग गरेको छ।
महासङ्घले एक विज्ञप्ति जारी गर्दै मुलुकभर एलपी ग्यासको अभाव भइरहेका बेला उद्योग र बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल रोक्न र स्थानीय विक्रेतामार्फत वितरणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो। स्थानीय डिपोबाट ग्यास वितरण गर्दा उपभोक्तालाई सहज हुने महासङ्घको भनाइ छ।
निगमका अनुसार भदौ १ गतेदेखि उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरेर ग्यास खरिद गर्न सक्नेछन्। ग्यास उद्योगले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण हरेक दिन बिहान ९ बजेसम्म निगमलाई उपलब्ध गराउनुपर्नेछ।
त्यसैगरी, विक्रेता तथा वितरकले दैनिक बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसमेतको विवरण तयार गरी सम्बन्धित ग्यास उद्योगलाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निगमले जनाएको छ। सम्बन्धित उद्योगले पनि उक्त विवरण सोही दिन निगमलाई बुझाउनुपर्नेछ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा उद्योगले शनिबार पाँच र आइतबार सात स्थानबाट ग्यास वितरण गरेका थिए। महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानललाई पन्छाएर उद्योगले आफैँ ग्यास बिक्री गर्दा उपभोक्ताले थप दुःख पाएको दाबी गर्दै उद्योगबाट हुने प्रत्यक्ष बिक्री बन्द गर्नुपर्ने बताएका छन्।
निगमले घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई बिक्री वितरणमा उच्च प्राथमिकता दिन उद्योग तथा विक्रेतालाई निर्देशन दिएको छ। ग्यासको वितरणमा अवाञ्छित गतिविधि हुन नदिन अनुगमनलाई समेत कडाइ गरिने निगमको भनाइ छ।
ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षा सहजताका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीले ग्यास वितरणको अनुगमन गर्ने व्यवस्था पनि गरिएको छ।
नजिकको विक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक परेका उपभोक्तालाई निगममा सञ्चालनमा रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न आग्रह गरिएको छ।
नेपालपत्र संवाददाता