काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि ७ हजार २ जनाको माग हुँदा ७६ हजार १७२ नेपालीले आवेदन दिएका छन् । यो मागभन्दा १० गुणाभन्दा बढी हो ।
रोजगारीका सीमित अवसर र विदेशमा तुलनात्मक रूपमा राम्रो आम्दानी तथा सुरक्षित रोजगारीको खोजीमा रहेका नेपाली युवाको ठूलो संख्या यसबाट देखिन्छ । दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य भएकाले आवेदन संख्या उच्च भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
इपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रमा ५ हजारको मागमा ५२ हजार १२१, कृषि तथा पशुपालनमा २ हजारको मागमा २२ हजार ५१ र सेवा तथा वन क्षेत्रमा एक/एक सयको मागमा करिब एक/एक हजार आवेदन परेको छ ।
यसपटक एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । विगतमा उत्पादन र कृषितर्फ दुवैतिर आवेदन दिने व्यवस्था हुँदा देखिएको व्यवस्थापन समस्या हटाउन यस्तो प्रबन्ध गरिएको शाखाले जनाएको छ ।
भाषा परीक्षामा उत्तीर्ण हुँदैमा दक्षिण कोरियामा रोजगारी सुनिश्चित हुँदैन । पहिलो चरण पार गरेपछि सीप परीक्षण र कार्यक्षमता मूल्याङ्कनसमेत उत्तीर्ण गर्नुपर्ने हुन्छ ।
नेपालपत्र संवाददाता