बुधबार, भाद्र ३ गते २०८३

मुद्दती निक्षेपको ब्याजदर घट्यो, भदाैका लागि औसत ४.१३ प्रतिशत


श्रावण ३१, २०८३ आइतबार
मुद्दती निक्षेपको ब्याजदर घट्यो, भदाैका लागि औसत ४.१३ प्रतिशत

 

वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले भदौ १ गतेदेखि लागू हुने गरी व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएपछि औसत ब्याजदर पछिल्लो समयकै न्यून तहमा झरेको हो ।

भदौका लागि वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशत कायम भएको छ । साउनमा यस्तो ब्याजदर ४.१७ प्रतिशत थियो । यसैगरी संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.०४ प्रतिशत बिन्दुले घटेर ३.०८ प्रतिशत कायम भएको छ ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूले निक्षेपको ब्याजदर क्रमशः घटाउँदै लगेका छन् । निक्षेपको लागत घटाउने प्रयाससँगै बैंकहरूले मुद्दती निक्षेपमा दिने प्रतिफलसमेत कम गर्दै लगेका हुन् ।

भदौमा पाँच वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले ब्याजदर घटाएका हुन् । बाँकी १५ वाणिज्य बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर घट्ने क्रमले एकातर्फ निक्षेपकर्ताले पाउने प्रतिफल घटाउँदै लगेको छ भने अर्कोतर्फ बैंकहरूको लागत कम गर्ने अवस्था बनेको छ । तर, निक्षेपको ब्याजदर निरन्तर घट्दा पनि कर्जाको माग विस्तार हुन नसकेमा बैंकिङ प्रणालीमा रहेको तरलता लगानीमा रूपान्तरण गर्ने चुनौती भने कायमै रहने देखिन्छ ।