बुधबार, भाद्र ३ गते २०८३

संचित साकोसद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना


फाल्गुण २८, २०८२ बिहीबार
संचित साकोसद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना

भुलाँचा ४ भक्तपुरमा रहेको संचित बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले १७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाका अध्यक्ष योगेन्द्र बहादुर खर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार  विनोद चरण राय र सल्लाहकार गजेन्द्र शंकर तिमिलाको आथित्यता रहेको थियो ।

‘रक्त्दान जीवनदान’ भन्ने नाराका  साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी, सदस्य, सञ्चालक र सर्वसाधारणले रक्तदान गरेका थिए ।  सो अवसरमा  १८ जना पुरुष र ४ जना महिलाले गरी २२ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ ।  विरामीको उपचारमा अत्यावश्यक पर्ने रगतको मागलाई केही मात्रामा भए पनि पुरा गर्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । अहिले पनि विरामीहरुको उपचारका लागि अत्यावश्यक पर्ने रगतको अभाव रहेको छ । यस्तो अवस्थामा भक्तपुरमा रहेका अधिकांश सहकारी संस्थाले रेडक्रससँगको सहकार्यमा नियमित रुपमा रक्तदान गर्दै आएका छन् । रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने सबैलाई  संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

२०६६ साल फागुन २६ गते  स्थापना भएको संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि निरन्तर कार्य गर्दै आएको छ । संस्थाका अध्यक्ष खर्बुजाले वित्तीय कारोबारका अलवा संस्थाले विभिन्न सामाजिक क्रियाकलाप समेत गर्दै आएको बताए । संस्था वित्तीय अनुशासनमा रही सहकारी मुल्य, मान्यता र सिद्धान्तको आधारमा रही सञ्चालित भइराखेको उनको भनाई छ । सदस्यहरुको विश्वास जित्न सकेकै कारण संस्थाले यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको उनले बताए । गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थामा ३ हजार ७ सय सदस्य र ७३ करोड माथि कुल सम्पत्ति रहेको छ ।