आइतबार, आश्विन १८ गते २०८३

श्री बाराही साकोसको २७औँ साधारण सभा, वित्तीय पारदर्शिता कायम गर्ने प्रतिवद्धता


आश्विन १८, २०८३ आइतबार
श्री बाराही  साकोसको २७औँ   साधारण सभा, वित्तीय  पारदर्शिता  कायम गर्ने   प्रतिवद्धता

भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका जेष्ठ कृष्णमाया खर्बुजाको आतिथ्यता तथा संस्थाका अध्यक्ष राधेश्याम सुवालको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो ।

साधारण सभामा वित्तीय साक्षरताका लागि प्रोस्कूनका सञ्चालक तथा स्रोत व्यक्ति कृष्ण गोविन्द लाखाजुले  सदस्यहरुलाई सहकारी   ऐन, नियम,  मापदण्ड,वित्तीय व्यवस्थापन, बचतको महत्व, ऋणको सदुपयोग, ऋण भुक्तानीमा अनुशासन, आय अनुसार खर्च व्यवस्थापन तथा भविष्यका लागि वित्तीय योजना निर्माणका विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए । उनले सहकारीका सदस्यले आफ्नो वित्तीय अवस्था बुझेर बचत तथा ऋणको कारोबार गर्नसके व्यक्तिगत आर्थिक स्थायित्वसँगै संस्थाको वित्तीय स्वास्थ्य पनि मजबुत हुने  बताए । 

सामुदायिक व्यवहारको विकास गरौं जसले गर्दा समाज राम्रो र सहकारी राम्रो हुनेछ भन्ने विषयलाई जोड दिदै लाखाजुले वित्तीय साक्षरता केवल पैसा बचत गर्ने विषय मात्र नभई आम्दानी, खर्च, बचत, लगानी, ऋण तथा जोखिम व्यवस्थापनसँग सम्बन्धित समग्र ज्ञान र व्यवहार भएको बताए । उनले सदस्यहरूलाई नियमित रूपमा आफ्नो आर्थिक गतिविधिको समीक्षा गर्नुपर्ने भन्दै सहकारीबाट लिएको ऋणलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरी समयमै किस्ता तथा ब्याज भुक्तानी गर्ने बानीले सदस्य र संस्थाबीचको विश्वास अझ मजबुत हुने बताए ।

सभाका तयारी समितिका संयोजक एवं संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका बयोवृद्ध सदस्यबाट पानसमा दिप प्रज्वलित गरी साधारण सभा उद्घाटन गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव बिष्णु प्रसाद सुवाल, कोषाध्यक्ष रत्न केशरी सुखुुपायो र लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण नागाबाट आ–आफ्नो प्रतिवेदन पारितको लागि सभामा प्रस्ताव पेश गरेका थिए ।

संचालक सदस्य पुनेन्द्र प्रसाद कुसीले उद्घोषण गरेको सभामा संस्थाका शेयर पुँजी वृद्धि सदस्य २ जना, संरक्षित पुँजी फिर्ता कोष वितरणमा ऋण र बचत तर्फ बढी योगदान गर्ने २ जना, धिमे बाजा प्रशिक्षार्थी २८ जना, प्रशिक्षक २ जना, २०८२ मा एसईई तह पुरा गर्नुहुने ५७ जना विद्यार्थीहरुलाई उक्त कार्यक्रममा सम्मान पत्र तथा कदर पत्र वितरण गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष राधेश्याम सुवालले सहकारी संस्था सदस्यहरूको साझा आर्थिक संस्था भएकाले यसको सफलतामा संचालक वा कर्मचारीहको प्रसायले मात्र नभई प्रत्येक सदस्यहरूको सक्रिय सहभागिता र अटुट विश्वासका साथै सञ्चालक समितिको दूरदर्शी नेतृत्व र कर्मचारीहरूको लगनशीलताकै कारण संस्था आज यो उचाइसम्म पुग्न सफल भएको बताए ।

अध्यक्ष सुवालले भने, “सहकारीको वास्तविक पूँजी केवल संस्थामा रहेको रकम होइन, सदस्यहरूको विश्वास हो । सदस्यको विश्वासलाई कायम राख्दै पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र जवाफदेहितालाई संस्थाको मूल आधार बनाएर अगाडि बढ्नुपर्छ ।” 

अध्यक्ष सुवालले साधारण सभा संस्थाको वार्षिक औपचारिक कार्यक्रम मात्र नभई सदस्यहरुको सहभागिता मूलक निर्णय, विगतको समीक्षा, वर्तमानको मूल्याङ्कन र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरे । उनले सम्पूर्ण सदस्यहरूको निरन्तर साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गर्दै आगामी दिनहरूमा संस्थालाई अझ पारदर्शी, प्रविधिमैत्री र सुरक्षित बनाउँदै सदस्य केन्द्रित सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

b(1).png