कुनै समय शाखा विस्तारमा आक्रमक देखिएको राष्ट्रिय सहकारी बैंकले अहिले शाखा घटाउने नीति लिएको छ । सहकारी क्षेत्रको एक मात्र बैंक रुपमा स्थापित बैंकले देशका ७७ वटै जिल्लामा शाखा विस्तारको लक्ष्य राखेको भए पनि पछिल्लो समय मर्ज गरी शाखा घटाउने नीलि लिएको हो ।
विगतमा गरेको कतिपय ऋण लगानी जोखिममा परेको र ऋणको साँवा ब्याज असुलीमा समेत समस्या भाेगेकाले बैकलाई वित्तीय चाप परेसँगै शाखा मर्जको नीति लिएको हो । बैंकले ती शाखा सञ्चालनको लागि सञ्चालन खर्च समेत धान्न समस्या भएपछि नजिकका शाखाहरु एकआपसमा मर्ज गर्न लागेको हाे । बैंकमा १६ हजार भन्दा बढी सहकारी संघ तथा संस्था आवद्ध भएपनि विगतमा पहुँचका आधारमा निश्चित सहकारी संस्थालाई मात्र ऋण लगानी गर्दा बैंकको खराब कर्जा बढेर ४ अर्ब माथि छ भने ४५ करोड भन्दा बढी नोक्सानमा रहेको छ। माघ मसान्तसम्म बैंककाे कुल बचत ४५ अर्ब ९० कराेड रहेकाे छ भने र कुल कर्जा लगानी १६ अर्ब १६ कराेड छ ।
शहरी क्षेत्रमा सहकारी संस्थाको संख्या अधिक रहेको र ती संस्थाहरुसँग वित्तीय कारोबार गर्न उपत्यकामा बाक्लो शाखा बैैंकले खोलेको थियो । कोभिड १९ पछि मुलुकमा आएको आर्थिक मन्दीका कारण वित्तीय संकट आइलाग्दा सयौं सहकारीहरु बन्द हुन पुगेका छन् । यसले गर्दा कारोबार घट्न जाँदा बैंकले नजिकका शाखा बन्द गर्ने नीति लिएको हो । सदस्य संस्थाहरुलाई वित्तीय तथा प्राविधिक सेवा प्रदान गर्ने उदेश्यले बैंकको स्थापना भएको भए पनि अधिकांश संस्थाहरुले त्यो सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।
जसले गर्दा बैंकलाई शाखा टिकाइ राख्न समेत हम्मे हम्मे परेको छ। अर्कोतर्फ अहिले बैंकको ऋण लगानी न्युन रहेको छ। पछिल्लो आर्थिक मन्दीबाट बचेका सहकारी संस्थाहरुसँग अहिले प्रयाप्त मात्रामा तरलता रहेका कारण बैंकबाट ऋण सुविधा लिन चाहिरहेका छैनन्, जसले गर्दा बैंकको तरलतामा वृद्धि भएर ६२ प्रतिशत माथि पुगेको छ। खर्च धान्नै गाह्रो भए पछि बैंकले शाखा घटाउने नीति लिएको हो । बैंकले निकालेको सूचना अनुसार पोखरामा रहेको ताल्चोक र पोखरा शाखा एक आपसमा गाभिने भएका छन् ।
त्यसैगरी बुटवल शाखा र वालिङ शाखा, काठमाडौंको पुतली सडक शाखा र न्युरोड शाखा, मुख्य शाखा कुपन्डोल र लगनखेल शाखा, कालिमाटी शाखा र कंलकी शाखा एकआपसमा गाभिएर सदस्य संस्थालाई वित्तीय सेवा दिने बैंकले जनाएको छ । त्यसैगरी कोटेश्वर शाखा र ठिमी शाखा, नयाँ बजार शाखा र गोंगबु शाखा तथा फिदिम र इलाम शाखा एक आपसमा गाभिन लागेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षकाे माैद्रिक नीतिकाे समीक्षामार्फत् बैंक तथा वित्तीय संस्थाका नजिकका शाखाहरू एकापसमा गाभ्नेगाभिन सक्ने नीति ल्याएसँगै शाखा मर्ज गर्ने बाटाे खुलेकाे हाे ।
नेपालपत्र संवाददाता