बुधबार, भाद्र ३ गते २०८३

उत्तम जीवन त्यो हो, जसलाई प्रेमले उत्प्रेरणा र ज्ञानले मार्गनिर्देशन गरेको हुन्छ : बर्ट्राण्ड रसेल


फाल्गुण २८, २०८२ बिहीबार
उत्तम जीवन त्यो हो, जसलाई प्रेमले उत्प्रेरणा र ज्ञानले मार्गनिर्देशन गरेको हुन्छ : बर्ट्राण्ड रसेल
बर्ट्राण्ड आर्थर विलियम रसेल, तृतीय अर्ल रसेल (१८७२–१९७०) अन्तर्राष्ट्रिय ख्यातीप्राप्त बेलायती वैज्ञानिक, गणितज्ञ, दार्शनिक, शिक्षाविद्, लेखक, समाजशास्त्री राजनीतिज्ञ हुन् । यिनी साहित्यमा नोवेल पुरस्कार (१९५०), अर्डर अफ मेरिट (१९४९) लगायत कलिङ् पुरस्कार, डेनिश सोनिङ् पुरस्कार आदिबाट सम्मानित भए ।
 
भारतीय स्वतन्त्रता आन्दोलनप्रति नैतिक समर्थन दिएकोले उनलाई बेलायतमा गठित इन्डिया लीगको अध्यक्ष बनाइएको थियो । प्रेम पाउने उत्कण्ठा, ज्ञानको खोज तथा मानवीय पीडाप्रति अनन्त सहानुभूति जस्ता तीन महत्वपूर्ण भावावेगले उनको ९७ वर्ष लामो जीवनलाई हिँडाए । यिनी पेकिङ्, शिकागो, हार्वार्ड र न्यूयोर्क विश्वविद्यालयहरूमा दर्शनशास्त्रको प्राध्यापक पनि भए। पापबारे रुढीवादी गलत धाराको खण्डन गर्दै यिनले आधुनिक युगमा पापबारे यथार्थवाद र वैज्ञानिक दृष्टिकोणको विकास गरेका छन् ।
 
आफ्नो जीवनकालमा उनले २२ वर्षको उमेरमा पहिलो विहे र ८० वर्षको उमेरमा चौथो र अन्तिम बिहे गरे । शान्तिवादी अभियन्ता रसेलले पहिलो विश्वयुद्धको विरोध गर्दा जेल जानु परेको थियो । भियतनाममा अमेरिकाको सैन्य बर्वरता र नरसंहारको जाँचका लागि राष्ट्र संघबाट अन्तर्राष्ट्रिय युद्ध अपराध आयोग गठनको जोडदार माग गरेर यिनले विश्वको श्रद्धा र आकर्षण कमाए ।
 
रसेलको परिवार बेलायतको त्यस्तो ऐतिहासिक घराना हो, जुन घरानाबाट त्यहाँको राजनीतिमा फेबियन सोसाइटी, स्वतन्त्र ब्यापार आन्दोलन, विश्व शान्ति, परमाणु हतियार निषेध, महिलालाई मताधिकार, जनसंख्या नियन्त्रण जस्ता एजेण्डाका साथ महत्वपूर्ण भूमिका निर्वाह हुनेगरेको थियो । यिनले पश्चिमी दर्शनको इतिहास, गणितका सिद्धान्त, विवाह र नैतिकता, चीनका समस्या, निरस्त्र विजय र सामाजिक पुनर्निर्माणको सिद्धान्त आदि महत्वपूर्ण पुस्तक लेखेका छन् ।
 
उपरोक्त भनाई उनले १९२५ मा लेखेको मानवतावाद सम्बन्ध निवन्धको पुस्तक ‘म जेमा विश्वास गर्छु’ बाट लिइएको हो । यही नामको पुस्तक ई.एम. फोस्टर आदि नामुद लेखकले पनि लेखेका छन्;
The good life is one inspired by love and guided by knowledges.