बुधबार, भाद्र ३ गते २०८३

रेकर्ड कारोबारबीच नेप्से घट्यो, करिब आठ महिनाकै उच्च कारोबार


फाल्गुण २६, २०८२ मंगलबार
रेकर्ड कारोबारबीच नेप्से घट्यो, करिब आठ महिनाकै उच्च कारोबार

 

काठमाडौँ । मंगलबार सेयर बजारमा तीव्र उतारचढाव देखिए पनि कारोबार रकम भने करिब आठ महिनाकै उच्च स्तरमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ३२.०८ अंकले घटेर २ हजार ८४३.३५ विन्दुमा झरेको छ। परिसूचक घटे पनि दिनभरको कारोबार रकम २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँ पुगेको छ, जुन पछिल्लो करिब आठ महिनाकै उच्च हो।

यसअघि साेमबार बजारमा लगातार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित गरिएको थियो। साेमबार नेप्से ६ प्रतिशतले बढेपछि बजार बन्द गरिएको थियो। मंगलबार कुल ७८ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट अगाडि रहे।

समूहगत सूचकतर्फ म्युचुअल फण्ड, जीवन बीमा र निर्जीवन बीमा समूहमा सुधार देखिएको छ। निर्जीवन बीमा समूह ०.४७ प्रतिशत र जीवन बीमा समूह ०.५१ प्रतिशतले बढेका छन्। यता बैंकिङ १.२७, विकास बैंक १.१६, फाइनान्स २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८, उत्पादन तथा प्रशोधन १.८२, माइक्रोफाइनान्स ०.१७, अन्य १.४० र व्यापार समूह २.१२ प्रतिशतले घटेका छन्।

मंगलबार दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ। रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.०८, कालिका पावरको ८.८७ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.४२ प्रतिशतले वृद्धि भएको छ। यता हिमस्टार ऊर्जाको सेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ।