शनिबार, आश्विन १७ गते २०८३

सरकार गठनको तयारीमा रहेकाे रास्वपाका के छन् आर्थिक सुधारका प्रमुख एजेन्डा ?


फाल्गुण २६, २०८२ मंगलबार
सरकार गठनको तयारीमा रहेकाे रास्वपाका के छन् आर्थिक सुधारका प्रमुख एजेन्डा ?

 

नेपालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ। अर्थतन्त्रमा मन्दीकाे प्रभाव कायमै रहेकाे, आर्थिक गतिविधिहरू सुस्त रहेकाे, बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएर कर्जा विस्तार हुन नसकिरहेका यावत् चुनाैति हाल रहेका छन्। नयाँ बन्ने सरकारले यस्ताे चुनाैतिकाे सामना के कसरी गर्ला भन्ने चासाे सर्वत्र छ। निर्वाचनअघि सार्वजनिक गरेको रास्वपाकाे वाचापत्रमा पार्टीले आर्थिक सुधार, लगानीमैत्री वातावरण र डिजिटल अर्थतन्त्रलाई केन्द्रमा राख्दै विभिन्न नीति तथा कार्यक्रम अघि सारेको थियो। सरकार गठनपछि ती प्रतिबद्धताहरू कसरी कार्यान्वयन हुन्छन् भन्ने विषय अहिले सबैले हेरिरहेका छन्।

रास्वपाले चुनाव अघि सार्वजनिक गरेकाे बाचापत्रमा समेटिएका अर्थतन्त्रका प्रमुख मुद्दाहरू यस्ता रहेका छन्ः 

उत्पादकत्व वृद्धि र उद्यममैत्री वातावरण

  • आर्थिक समृद्धिको आधारका रूपमा उत्पादकत्व वृद्धि र दिगो उत्पादनमा जोड।

  • निजी क्षेत्रलाई रोजगारी सिर्जना, उत्पादन तथा लगानी प्रवाहमा अग्रणी भूमिका।

  • सरकारको भूमिका नियामक र सहजीकरणकर्तामा सीमित गर्ने नीति।

  • नवप्रवर्तन, उद्यमशीलता र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उद्यममैत्री वातावरण निर्माण।

  • युवा जनसांख्यिक लाभांशलाई अवसरमा रूपान्तरण गर्दै सीप विकास, पुँजी निर्माण र प्रविधि–आधारित औद्योगिकीकरणलाई प्राथमिकता।

नियामक सुधार र सामाजिक बजार अर्थतन्त्र

  • कार्टेल, अस्वस्थ प्रतिस्पर्धा र नीतिगत दोहन नियन्त्रणका लागि शक्तिशाली नियामक निकाय निर्माण।

  • राजनीतिक हस्तक्षेपबाट मुक्त, पारदर्शी र पेशागत नियमन प्रणाली विकास।

  • उदार अर्थनीति र सामाजिक सुरक्षा संयोजन गर्दै ‘सामाजिक बजार अर्थतन्त्र’को मोडेल अवलम्बन।

आर्थिक वृद्धि लक्ष्य र कानुनी सुधार

  • असान्दर्भिक बनेका करिब दुई दर्जन ऐन खारेज वा संशोधन गर्ने योजना।

  • उत्पादन लागत घटाउने र लगानीमैत्री वातावरण सुधार गर्ने नीति।

  • पाँच वर्षसम्म औसत ७ प्रतिशत आर्थिक वृद्धि दर कायम गर्ने लक्ष्य।

  • प्रतिव्यक्ति आय ३ हजार डलरभन्दा माथि पु¥याउने तथा अर्थतन्त्रलाई १०० अर्ब डलर नजिक लैजाने लक्ष्य।

कर नीति र विनिमय दर पुनरावलोकन

  • सामाजिक न्यायसहित करको समग्र बोझ घटाउने योजना।

  • ‘पारिवारिक भार’का आधारमा आयकर सीमा पुनरावलोकन।

  • शिक्षा, स्वास्थ्य र पालनपोषण खर्चमा कर छुटको व्यवस्था।

  • भारतीय रुपैयाँसँग स्थिर विनिमय दर प्रणालीको अध्ययन र पुनरावलोकन।

लगानी प्रवर्द्धन र सार्वजनिक संस्थान सुधार

  • स्वदेशी तथा विदेशी लगानीका लागि ‘वान स्टप सेवा केन्द्र’ लागू।

  • डिजिटल माध्यमबाट सहज र छिटो व्यवसाय दर्ता व्यवस्था।

  • सार्वजनिक संस्थानको पुनर्संरचना—केही गाभ्ने, केही निजी–सार्वजनिक साझेदारीमा लैजाने।

  • राष्ट्रिय गौरवका आयोजनालाई समयबद्ध रूपमा सम्पन्न गर्ने ‘मिसन मोड’ कार्यशैली।

वित्तीय क्षेत्र सुधार

  • सहकारी र लघुवित्तलाई कडा नियमनमा ल्याउँदै Nepal Rastra Bank को प्रत्यक्ष सुपरिवेक्षणमा राख्ने योजना।

  • कर्जा सूचना केन्द्रसँग सहकारी र लघुवित्तलाई जोडेर ऋण दोहोरोपन रोक्ने।

  • ब्याजदरलाई आधारदरसँग जोड्ने स्वचालित प्रणाली लागू।

बचत सुरक्षा र मिटरब्याज नियन्त्रण

  • साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने प्रतिबद्धता।

  • ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना।

  • मिटरब्याजलाई आर्थिक अपराधका रूपमा परिभाषित गर्दै कडा कारबाही।

पुँजी बजार सुधार

  • नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउने।

  • इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता नीति।

  • पेन्सन फन्ड, बीमा र म्युचुअल फन्डलाई लगानीमा सक्रिय बनाउने।

  • बन्ड बजार र वस्तु विनिमय बजारको विकास।

डिजिटल अर्थतन्त्र र आईटी क्षेत्र

  • सूचना प्रविधिलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने योजना।

  • आगामी १० वर्षमा आईटी निर्यात ३० अर्ब डलरसम्म पु¥याउने लक्ष्य।

  • आईटी क्षेत्र प्रवर्द्धनका लागि स्वायत्त ‘आईटी प्रवर्द्धन बोर्ड’ गठन।

डिजिटल पार्क र रोजगारी

  • सातै प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण।

  • प्रत्यक्ष रूपमा पाँच लाख युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्य।

  • डेटा सेन्टर, क्लाउड सेवा र साइबर सुरक्षामा ठूलो लगानी।

क्यासलेस अर्थतन्त्र र स्टार्टअप प्रवर्द्धन

  • ‘डिजिटल–फर्स्ट’ राष्ट्रको अवधारणा लागू गर्दै क्यासलेस अर्थतन्त्र निर्माण।

  • अन्तरराष्ट्रिय पेमेन्ट गेटवेमा रहेका कानुनी अवरोध हटाउने।

  • स्वदेशी स्टार्टअपलाई वैश्विक बजारसँग जोड्ने नीति।

एआई, क्रिप्टो र डिजिटल रोजगारी

  • कृत्रिम बुद्धिमत्ता (एआई) र कम्प्युटिङ शक्ति निर्यात गर्ने दीर्घकालीन लक्ष्य।

  • जलविद्युत् आयोजनानजिक डेटा सेन्टर स्थापना गरी ‘ग्रिन कम्प्युटिङ’ सेवा निर्यात।

  • क्रिप्टोकरेन्सी नियमनबारे स्पष्ट राष्ट्रिय नीति ल्याउने तयारी।

  • रिमोट वर्क र डिजिटल रोजगारीलाई कानुनी मान्यता।

रास्वपाले आर्थिक संरचनालाई सेवा–निर्यातमुखी तथा ज्ञान–आधारित अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित यी एजेन्डा अघि सारेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता