कम्युनिष्ट आन्दोलनमा आज सिद्धान्तहीनता र असरवाद प्रभावी बनेको छ । आफुलाई कम्युनिष्ट भन्ने कतिपय पार्टीहरू संसदवादमा पतन भएका छन । कम्युनिष्ट आन्दोलनको मुल मान्यताबाट च्युत भएका यी शक्तिहरू नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा भैसकेको भनि भ्रम सिर्जना गरिरहेका छन् । राष्ट्रिय स्वाधीनताको रक्षा र आम जनतालाई वर्गीय शोषण र सामाजिक उत्पीडनवाट मुक्तिको आन्दोलनबाट कम्युनिष्ट आन्दोलनलाई विचलित गराउने षडयन्त्र गरिरहेका छन् । कम्युनिष्ट आन्दोलनलाई नै धराशायी बनाउने यसप्रकारको संसदवादलाई अन्त्य गर्न र विसर्जनवादलाई परास्त गर्न क्रान्तिकारी कम्युनिष्टहरूलाई एकतावद्ध गराउनु यो समयको माग हो ।
तर नेपाली समाजको चालक शक्तिको पहिचान गरी उनीहरूसँगको प्रधान अन्तरविरोध समाधान गर्ने सन्दर्भमा मतभिन्नताहरू आज पनि रहेका छन् । उग्रवाम तथा दक्षिणपन्थ तयार गरी आन्दोलनलाई नै बदनाम गराइए जसरी त्यसको अबशेष मार्फत पुन त्यतै भड्खालोमा त फेरी शुरू भएका संघर्षहरू पुग्ने हैनन ? नेपाली जनता सशंकित बनेका छन् । यस्ता प्रकारका अप्ठ्याराहरूलाई छिचोल्दै खुल्ला र खुलस्त बहस गर्दै सिद्धान्तनिष्ट इमान्दार क्रान्तिकारी कम्युनिष्टहरूको पुनर्गठन आवश्यक बनेको छ ।
आजको सन्दर्भमा त्यो देशभक्त हो जसले विस्तारवादी प्रभुत्ववाद र साम्राज्यवादी शोषण, उत्पीडन र विभेदका विरूद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गरिरहेको शक्ति, त्यो जनवादी शक्ति हो जसले सामन्तवादी संस्कार संस्कृति तथा विस्तारवादी प्रभुत्ववाद र साम्राज्यवादी शोषण, उत्पीडन र विभेदका विरूद्ध संघर्ष गर्दै सामाजिक न्यायको पक्षमा संघर्ष गरिरहेको शक्ति र यो राज्यसत्ताको विकल्पमा रहेका र समाजमा चलिरहेको वर्ग संघर्षलाई गरिखाने वर्गको राज्यसत्ता स्थापनाका लागि निरन्तर संघर्ष गरिरहेका शक्तिहरू नै क्रान्तिकारी शक्ति हुन । उनीहरूबीचको एकता नै नयाँ जनवादी क्रान्तिको प्रस्थान विन्दु हो । यसर्थ यो नारा समसामयिक र ऐतिहासिक महत्वको छ ।
संविधानसभाबाट जारि गरिएको भनिएको संविधान, त्यसले स्थापना गरेको ब्यवस्था, यस अन्तरगत भएका निर्वाचन र बनेका सरकारहरूको कृयाकलाप हामीले भोगी सक्यौ । सरकार माफिया, दलाल, कमिशनखोर, भ्रष्ट र विदेशीहरूको स्वार्थ रक्षा गर्ने औजार बनेकोछ । संसदमा रहेका अधिकांस नेताहरू नै भ्रष्टाचारमा संलग्न छन । अदालत लगायतका संवैधानिक निकायहरू राजनीतिक भागवण्डामा चलेको छ । हत्या ,हिंसा, अराजकता, महङ्गी, मुल्यबृद्धि, भ्रष्टारचार, कमिशनखोरी, कालोवजारी, वेरोजगारीबाट जनजीवन अत्यन्त कष्टकर बनिरहेछ । देश लुटतन्त्रमा रूपान्तरित भएको छ ।
संसद र सरकारमा रहेका दलहरू सत्ता स्वार्थको निम्ति नाङ्गो नौटंकी प्रदर्शन गरिरहेका छन । राजनीतिक दलहरू, संसद बेकम्मा भएका छन् । देश अदालतको आदेशमा चलिरहेकोछ । लोकतान्त्रिक मुल्य मान्यता समाप्त भएको छ । देश क्रमसः निरंकुुस अधिनाकवादतर्फ उन्मुख हँुदैछ र जनताका जनतान्त्रिक अधिकारहरू कुण्ठित हुँदै छन् ।
राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न झनै पेचिलो बन्दै गइरहेको छ । । देश माथि लादिएका असमान सन्धिहरू खारेज गर्नुको सट्टा सत्ता स्वार्थको निम्ति विदेशी सामु लम्पसार पर्दै देशको श्रोतसाधन विदशीहरूलाई सुम्पने देशहित विरूद्धका अनेकन सन्धि सम्झौताहरू भइरहेका छन । देशको पूँजी र उद्योगको रक्षा र विकास गरिएको छैन । नेपालीको लगानीमा बन्नसक्ने अरूण तेश्रो, माथिल्लो कर्नाली जस्ता सस्ता बहुउद्देश्यीय आयोजनाहरू कौडिको भाउमा भारतलाई बेचेर नपुगेर एमसीसी जस्तो राष्ट्रघाती सम्झौता सदनबाट पारित गराउने दुष्प्रयास भइरहेकोछ । एक ध्रुवीय विश्व व्यवस्था निर्माण गर्न लागिरहेको साम्राज्यवाद र त्यसलाई परास्त गर्न लागिरहेका शक्तिहरू बीच शीत युद्धको अवस्था सिर्जना भइरहेको बेला अमेरिकाले तय गरेको हिन्द प्रशान्त रणनीतिक योजना मातहतको एमसीसी परियोजनालाई भित्राएर देशलाई साम्राज्यवादी खेमामा धकेलिँदैछ । पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिको मान्यतालाई समाप्त गरिदैछ र देशलाई माहाशक्तिहरूको रणनीतिक कृडास्थल बनाउने धृष्टता गरिँदैछ ।
यी तथ्यहरूले के पुष्टि गर्दछन भने कथित संविधानसभा, त्यसले बनाएको संविधान, त्यसले परिकल्पना गरेको यथास्थितिवादी संसदीय ब्यवस्था र यसका परिचालक राजनीतिक दलहरू पूर्ण रूपमा असफल भई विसर्जन भएका छन । अब देशले अग्रगामी परिवर्तनका एजेण्डा साथ वैकल्पिक व्यवस्था, राजनीतिक प्रणाली र शक्तिहरूको माग गरिरहेको छ ।
देशमा विद्यमान राजनीतिक संकट र त्यसको समाधान केवल सिद्धान्तनिष्ट कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वमा हुने संयुक्त जनक्रान्तिले मात्र दिन सक्दछ । सामन्ती, दलाल तथा नोकरशाही पूँजीवादी शक्तिहरूले नेतृत्व गरेको संसदीय व्यवस्थालाई जतिसुकै धोइ पखाली गरे पनि यसबाट देशको स्वाधीनताको रक्षा र आम उत्पीडित वर्ग र समुदायको मुक्ति सम्भव छैन । ‘गधालाई जति पटक नुहाए पनि गाई हुँदैन’ यसर्थ नेपाल कम्युनिष्ट पार्टी सबै देशभक्त जनतान्त्रिक शक्तिहरू तथा आम उत्पीडित वर्ग तथा समुदायलाई देशको यो सच्चाइलाई ग्रहण गर्न र संयुक्त जनसंघर्षको बाटोमा अघि बढ्नुको विकल्प छैन । साथै, विभाजित कम्युनिष्ट क्रान्तिकारीहरूले देशको यो युुगिन आवश्यकतालाई समयमै आत्मसाथ गरी एकतावद्ध भएर जनक्रान्तिको आँधीबेहरी सिर्जन गर्न आवश्यक छ । नेपाली समाजको वस्तुगत आधारमा तय भएको यो नारा सार्थक नारा हो । संयुक्त जनसंघर्ष पटकपटक पुष्टि भए तापनि यसको नेतृत्व विसर्जनवादीको हातमा पर्न गएको छ । र पुरानो मक्किइसकेको संसारभर समेत असफल भई सकेको संसदवादी व्यवस्थाको समुल नष्ट गर्न क्रान्तिकारी कम्युनिष्टहरूको एकता अनिवार्य बन्न गएको छ । यस तर्फ सबैको ध्यान जान जरूरी छ ।
अहिले नेपाल कम्युनिष्ट पार्टी आफ्नो राष्ट्रिय सम्मेलनको क्रममा रहेको । स्मरणीय छ, पार्टीले २०७६ चैत्र २७ देखि ३० सम्म जनकपुरमा पार्टीको सम्मेलनको सम्पूर्ण तयारी पुरा गरिसकेको अवस्थामा कोभिडको कारण देशमा लकडाउन भयो । जसको कारण सम्मेलन स्थगित गर्न पार्टी बाध्य भयो । अहिले पनि कोभिडले जनजीवन सहज भइसकेको अवस्था छैन । भाद्र ३० (१५सेप्टेम्बर) पार्टी स्थापनाको दिन उद्घाटन गरेको नेकपाले मंसिर २९ मा सम्मेलनको समापन गर्दैछ । पार्टीले त्यस “क्रान्तिकारी कम्युनिष्टहरूलाई एकतावद्ध गरौं, संसदवाद तथा विसर्जनवादलाई परास्त गर्न संयुक्त जनसंघर्षको विकास गरौं” भन्ने नारा सम्मेलनका तय गरेको हो ।
नेपाली कम्युनिष्ट आन्दोलनको लोकप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी, कमरेड पुष्पलालले १५ सेप्टेम्बर २०४९ मा स्थापना गरेको पार्टीको उत्तराधिकारी पार्टी हो । यसको वैधानिकतालाई समाप्त गर्न विसर्जनवादमा पतन भएका कम्युनिष्ट नामधारी सरकारी पार्टीले पार्टीको नाम अतिक्रमण गर्ने दुश्साहस गरे । उनीहरू अदालतको निर्णयबाट पराजित भए । आजफेरी हरेक षडयन्त्रलाई परास्त गरेर नेपाल कम्युनिष्ट पार्टी प्राधिकारसाथ नेपाली जनतामाझ आएको छ र क. पुष्पलालका विचार र आदर्शलाई दृढतापूर्वक अनुशरण गर्ने प्रण गरेको छ । पुष्पलालको चिन्तन, चरित्र, विचार, व्यवहार, निष्ठा, त्याग र समर्पण नेपाली समाजलाई वर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त गर्न चाहने सबैका लागि आज पनि उत्तिकै प्रेरणाको श्रोत बनिरहेको छ ।