शनिबार, आश्विन १७ गते २०८३

जसले अहिंसाको मार्ग पछ्याउँछ, त्यहाँ शत्रुका लागि ठाउँ नै हुँदैन: महात्मा गान्धी


आश्विन १६, २०८३ शुक्रबार
जसले अहिंसाको मार्ग पछ्याउँछ, त्यहाँ शत्रुका लागि ठाउँ नै हुँदैन: महात्मा गान्धी
आज भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी,१८६९-१९४८) को जन्मजयन्ती (अक्टुबर २/१६ आश्विन) को सन्दर्भमा गान्धी चर्चा गरौं। महात्मा गान्धी सत्यको राजनीतिमा प्रतिबद्ध थिए र उनी खुला रूपमा जातीय र धार्मिक राष्ट्रवादको विरोध गर्थे । धेरै भारतीयहरु उनको वास्तविक नाम (मोहनदास करमचन्द गान्धी) जान्दैनन्, तर महात्मा गान्धी भनेपछि तुरुन्तै चिन्दछन्।
 
गान्धीजीका ६ आचरण - सत्य (सत्याग्रह), अहिंसा, सात्त्विक आहार, ब्रम्हचर्य, सादगी र निष्ठाको नैतिक आचरण अजेय शक्तिको रूपमा स्थापित भए, जसको शक्तिमा भारतीय स्वतन्त्रता आन्दोलन सफल भएको थियो। गान्धीले गरेको अहिंसामा विश्वास उपनिवेशविरोधी आन्दोलनमा मात्रै लागू भएन, बरु उपनिवेशपछि भारतमा बस्ने विभिन्न जातीय र धार्मिक समुदायले उनको यो विश्वासलाई प्रेरणाका रूपमा लिए। सन् १९१५ मा मद्रासमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘जसले अहिंसाको मार्ग पछ्याउँछ, त्यहाँ शत्रुका लागि ठाउँ नै हुँदैन। यस नियमअन्तर्गत त्यहाँ संगठित हत्याका लागि ठाउँ हुँदैन । म अहिंसालाई पछ्याउँछु भने मैले आफ्ना शत्रुलाई पनि माया गर्नुपर्छ।’
 
(For one who follows the doctrine of ahimsa, there is no room for the enemy […] under this rule there is no room for organised assassination, and there is no room for murders.) अर्को शब्दमा भन्नुपर्दा गान्धीको नजरमा शत्रुको अस्तित्व नै थिएन । सामाजिक र राजनीतिक पकडका लागि शत्रु सिर्जना गर्ने पारिपाटीलाई उनको राजनीतिले अस्वीकार गर्‍यो । उनले अन्तरजातीय र धार्मिक सम्बन्धमा पनि यही मान्यता राखे । गान्धीले प्रजातन्त्रमा विश्वास गरे, अन्य धर्मका मानिसलाई साथीका रूपमा लिए ।
 
जननायक बीपी कोइरालाले आत्मवृत्तान्तमा भन्नुभएको छ, ".....म जहाँ बसेको थिएँ, आएँ र रातभरि रोएँ । गान्धीजीमाथि मलाई ठूलो सहारा थियो, मलाई उनले बचाएका पनि थिए।....हो ची मिन्हले गान्धीको बारेमा भनेको मलाई बडो घर लाग्यो, 'गान्धीजीसँग मेरो जस्तोसुकै मतभेद भए तापनि हामी उनका उत्पत्ति हौं....." [पृ. ७६] ।
 
गान्धीको राजनीतिलाई हिंसा र घृणाले चुनौती पनि दिएको थियो। जस्तो, बंगालको मुस्लिम बाहुल्य क्षेत्र नोआखालीमा अक्टोबर र नोभेम्बर, १९४६ मा दंगा फैलँदा ५ हजार हिन्दू मारिए । यसले गान्धीको राजनीतिक करिअरलाई नै खतरामा पारेको थियो । त्यसपछि उनले भनेका थिए– अहिंसाको प्रविधि अझै परीक्षणमै छ । तर, यस्तो अवस्थामा पनि उनी शान्तिपूर्ण समाधानको खोजीका लागि नोआखली गए। अहिंसाको मार्गमा लागेका र भारतबाट ब्रिटिस उपनिवेशलाई लखेटेका गान्धीलाई भने धेरैले शत्रुका रूपमा हेरे ।
गान्धीको हत्या भएका बखत महाकवि देवकोटा कलकत्ता (भारत) मा हुनुहुन्थ्यो । उहाँले गान्धी हत्यालाई लिएर अँग्रेजीमा लघु शोककाव्य 'बापू' लेख्नुभयो। त्यसको चारपंक्ति-
"No greater deluge came, I saw poor men
Sobbing their hearth, big men looked grave
For every home had lost a father then,
There passed a mighty melancholy wave."
--------
(चर्चित पुस्तक ‘लुकिङ फर द नेसन : टुवार्डस् एनोदर आइडिया अफ इन्डिया’का लेखक मानस फिराक भट्टचर्जी को 'BJP's Gandhi Paradox' (भारतीय जनता पार्टीको गान्धी विरोधाभास') शीर्षक अल् जजीरा टीभी च्यानलको 'विचार' स्तम्भमा २ अक्टोबर २०१९ मा प्रकाशित आलेखका अंश सँग अन्य तथ्य मिलाइएको रुपमा।)