शुक्रबार, कार्तिक ७ गते २०८३

निर्वाचन परिणामले लगानीकर्तामा उत्साह, नेप्सेमा लगातार तेस्रो सकारात्मक सर्किट


फाल्गुण २५, २०८२ सोमबार
निर्वाचन परिणामले लगानीकर्तामा उत्साह, नेप्सेमा लगातार तेस्रो सकारात्मक सर्किट

 

काठमाडौँ । हालैको निर्वाचन परिणामपछि करिब दुईतिहाइ बहुमतसहित बलियो सरकार बन्ने अपेक्षाले लगानीकर्ताको मनोभाव सकारात्मक बन्दा सेयर बजारमा तीव्र उछाल देखिएको छ। यही उत्साहका बीच सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगातार तेस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ।

सोमबार नेप्से परिसूचक १६२.९३ अंक अर्थात् ६ प्रतिशतले बढ्दै २८७५.४३ बिन्दुमा पुगेपछि दिनभरका लागि कारोबार बन्द भएको हो। दोस्रो सकारात्मक सर्किट ब्रेक लागेर खुलेको बजारमा फेरि तीव्र वृद्धि भएपछि नियमअनुसार बाँकी कारोबार स्थगित गरिएको हो।

निर्वाचनको परिणामले राजनीतिक स्थिरता आउने अपेक्षा बढेपछि बजार खुलेको केही समयमै खरिद दबाब बढेको देखिएको थियो। लगानीकर्ताले स्थिर सरकार बनेमा आर्थिक नीति र लगानी वातावरण सकारात्मक बन्ने अपेक्षा राख्दै बजारमा सक्रिय रूपमा खरिदतर्फ लागेका हुन्।

सोमबार नेप्सेमा कुल ५५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये २५२ कम्पनीको सेयर मूल्य बढ्दा एक कम्पनीको मात्रै घटेको छ।

नेप्सेमा सर्किट ब्रेकको व्यवस्था अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा परिसूचक ४ प्रतिशतले बढे वा घटेमा २० मिनेट कारोबार स्थगित हुन्छ। दोस्रो घण्टामा ५ प्रतिशतले बढे वा घटेमा ४० मिनेट कारोबार रोक्ने व्यवस्था छ। तेस्रो घण्टामा परिसूचक ६ प्रतिशतले बढे वा घटेमा बाँकी दिनको सम्पूर्ण कारोबार स्थगित हुने नियम रहेको छ।

बजार विश्लेषकहरूका अनुसार निर्वाचन परिणामले राजनीतिक स्थिरताको संकेत दिएसँगै लगानीकर्तामा विश्वास बढेको छ। यही मनोवैज्ञानिक प्रभावले सेयर बजारमा अचानक उच्च खरिद चाप देखिएको उनीहरूको भनाइ छ।