नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारमा साइबर जोखिमलाई मध्यनजर गर्दै ब्रोकर कम्पनीहरूका लागि अनिवार्य आइटी अडिट व्यवस्था लागू गरेको छ। ‘आइटी अडिट गाइडलाइनस् २०२६’ जारी गर्दै नेप्सेले ट्रेडिङ सिस्टमदेखि मोबाइल एप र ग्राहक डाटा व्यवस्थापनसम्मका सम्पूर्ण डिजिटल पूर्वाधारको नियमित लेखा परीक्षण गर्नुपर्ने प्रावधान लागू गरेको हो।
यो निर्देशिका नेप्से ट्रेडिङ अपरेसन बाइलज २०७९ (चौथो संशोधन) अनुसार तयार पारिएको हो। यसअन्तर्गत ब्रोकर कम्पनीहरूले प्रयोग गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस), ब्याक अफिस सिस्टम, ग्राहक डाटा व्यवस्थापन प्रणाली, नेटवर्क पूर्वाधार, सर्भर, डाटाबेस र स्टोरेज सिस्टमको नियमित परीक्षण गरिनेछ। ब्रोकरका वेबसाइट, मोबाइल एप र अन्य डिजिटल प्लेटफर्मसमेत अनिवार्य अडिटको दायरामा पर्ने व्यवस्था गरिएको छ। यसबाट लगानीकर्ताले प्रयोग गर्ने डिजिटल माध्यमहरूको सुरक्षा स्तर स्पष्ट हुने नेप्सेको अपेक्षा छ।
निर्देशिकाले सूचना प्रविधि सुशासन र जोखिम व्यवस्थापनलाई विशेष प्राथमिकता दिएको छ। ब्रोकरहरूले आफ्नो आइटी रणनीति, नीति र जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्नुपर्नेछ। नेटवर्क सुरक्षाको सन्दर्भमा फायरवाल, एक्सेस कन्ट्रोल, सर्भरको भौतिक सुरक्षा र घुसपैठ पहिचान प्रणालीको प्रभावकारिता परीक्षण गरिनेछ।
नेपालपत्र संवाददाता