शुक्रबार, कार्तिक ७ गते २०८३

नेपाल राष्ट्र बैंकद्वारा ८७ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन आव्हान


फाल्गुण १०, २०८२ आइतबार
नेपाल राष्ट्र बैंकद्वारा ८७ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन आव्हान

 

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागमार्फत सार्वजनिक सूचनाअनुसार फागुन १० गते आइतबार ८७ दिन अवधिको लागि निक्षेप संकलन बोलकबोल गरिनेछ।

केन्द्रीय बैंकले अनलाइन बिडिङ सिस्टम सफ्टवेयर प्रणालीमार्फत दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने जनाएको छ। सोही दिन निक्षेप संकलन उपकरण निष्काशन हुने र यसको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते गरिनेछ।

निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुने जनाइएको छ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी अधिकतम आह्वान रकमसम्म बोल गर्न सक्नेछन्। बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

यो निक्षेप संकलन उपकरणलाई केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने जनाइएको छ। बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

केन्द्रीय बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको अधिक तरलतालाई व्यवस्थापन गर्न निक्षेप संकलन, रिपो तथा अन्य मौद्रिक उपकरणहरू प्रयोग गर्दै आएको छ। यस कदमले बजारमा पैसाको आपूर्ति सन्तुलनमा राखी ब्याजदर स्थिरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।