बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । संस्थाले ३३ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र विन्धवासिनी सहकारीबीच निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
विन्धवासिनीका अध्यक्ष शान्तकुमार श्रेष्ठ र रेडक्रस काभ्रेका सभापति देवेन्द्रप्रसाद भैलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार रेडक्रसले विन्धवासिनीका सदस्यहरुलाई अस्पताल भर्ना भइ रगतको आवश्यक परेमा प्रतिसदस्य दुई प्रिन्ट रगत निःशुल्क उपलब्ध गराउनेछ भने विन्धवासिनीले रगत लाग्नु शुल्क भुक्तानी दिनेछ । संस्थाले आफ्ना सदस्यलाई रक्तदानका लागि समेत अभिप्रेरित गर्दै आएको छ।यस्तै विन्धवासिनीले हरेक सेवा केन्द्रमार्फत वर्षमा कम्तीमा ७पटकसम्म रक्तदान कार्यक्रमको शिविर राख्नुपर्ने सम्झौतामा उल्लेख छ । संस्थाले आफ्नो स्थापनाको ३३ औं दिवस एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा संस्थापक अध्यक्ष भरतप्रसाद शर्माको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष प्रदिप थापाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी शर्माले सहकारीहरुले बचत संकलन गर्ने र ऋण लगानी गर्ने मात्र नगरी सदस्यहरुलाई कसरी टेवा पुर्याउन सकिन्छ भन्नेतर्फ पनि सोचेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विविध सम्मान, कदरपत्र र पुरस्कार वितरण पनि गरिएको थियो । गत वर्षको कार्य सम्पादनमा उत्कृष्ट कर्मचारीको रुपमा वरिष्ठ अधिकृत सुरज अधिकारी, सबिता भण्डारी कोइराला र शोभिता न्यौपाने पुरस्कृत भएका थिए । प्रमुख कार्यकारी अधिकृत के.वी. लामा स्याङ्तानले संस्थाको समग्र वित्तीय अवस्था र सदस्यहरुलाई दिने सेवाको वारेमा प्रस्तुतिकरण गरेका थिए ।
२०५० साल फागुण ६ गते स्थापना भएको सहकारी संस्थामा हालसम्म ५९ हजार भन्दा बढी सदस्य आवद्ध रहेका छन् । संस्थाको शेयर पुँजी ५३ करोड, साधारण जगेडा कोष ३९ करोड , बचत संकलन ४ करोड गरी कुल सम्पत्ति ५ अर्ब ४७ करोड पुगेको सिइओ लामाले बताए । संस्था वित्तीय रुपमा पारदर्शी रुपमा अगाडि बढेको भन्दै उनले ढुक्क भएर बचत तथा ऋणको कारोबार गर्न सदस्यहरुलाई आग्रह गरे । संस्थाले सदस्यहरुलाई बचत ऋणका साथै अन्य सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ ।
नेपालपत्र संवाददाता