शुक्रबार, कार्तिक ७ गते २०८३

फागुन महिनाका लागि केहि बैंकले घटाए निक्षेपको ब्याजदर


माघ २९, २०८२ बिहीबार
फागुन महिनाका लागि केहि बैंकले घटाए निक्षेपको ब्याजदर

काठमाण्डाै ।  फागुन महिनाका लागि सार्वजनिक नयाँ ब्याजदर तालिकाअनुसार २० वाणिज्य बैंकमध्ये ८ बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। सबै बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने तीमध्ये ४ बैंकले संस्थागत निक्षेपको ब्याजदर पनि घटाएका छन्।

ग्लोबल आईएमई बैंकले व्यक्तिगत निक्षेपमा ०.७५ प्रतिशत र संस्थागत निक्षेपमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाउँदै अधिकतम ब्याजदर क्रमशः ४.५ प्रतिशत र ३.५ प्रतिशत कायम गरेको छ।

त्यस्तै, नेपाल एसबीआई बैंकले व्यक्तिगततर्फ ०.१५ र संस्थागततर्फ ०.०३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.३ र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। प्राइम, एभरेस्ट र कृषि विकास बैंकले ०.१५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.११ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।

ब्याजदर घटेसँगै व्यक्तिगत मुद्दती खातामा अधिकतम ५.१ प्रतिशत र संस्थागत मुद्दती खातामा अधिकतम ४ प्रतिशतसम्म ब्याज पाइने भएको छ। व्यक्तिगत निक्षेपमा नेपाल बैंकले सबैभन्दा उच्च ब्याजदर तोकेको छ भने संस्थागत निक्षेपमा हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया र एनएमबी बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।

बजारमा तरलता पर्याप्त हुनु र कर्जाको माग न्यून रहनुले बैंकहरूको ब्याजदर घट्ने क्रम निरन्तर रहेको राष्ट्र बैंकको भनाइ छ। हाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि जारी गरिरहेको निक्षेप संकलन उपकरणको ब्याजदर २.७५ प्रतिशत रहेकोले सोभन्दा तल ब्याजदर झार्न नपाइने व्यवस्था छ।