काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अत्याधुनिक प्रविधिको दुरुपयोग गर्दै वित्तीय अपराध गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको भन्दै यसको समयमै नियन्त्रणका लागि वित्तीय सुपरिवेक्षण प्रणालीलाई स्रोतसाधन सम्पन्न, सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आयोजित ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै गभर्नर पौडेलले वित्तीय अपराध नियन्त्रणमा प्रतिक्रियात्मक नभई पूर्वतयारीमा आधारित रणनीति आवश्यक रहेको बताए। “भोलि समस्या आयो भने गरौँला भन्ने सोचले हुँदैन, सम्भावित जोखिमलाई ध्यानमा राख्दै आजै तयारी गर्नुपर्छ,” उनले भने ।
सम्मेलनको मुख्य उद्देश्य सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय सहयोग रोक्न नीतिगत, नियामकीय र सुपरिवेक्षण संयन्त्रलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउनु रहेको राष्ट्र बैंकले जनाएको छ। पीडीएफमार्फत प्रस्तुत सामग्रीअनुसार सम्मेलनमा जोखिम पहिचान, प्रविधिको प्रयोग, डेटा एनालिटिक्स, नियामकीय समन्वय र अन्तरदेशीय अनुभव आदान–प्रदानमा केन्द्रित छलफल भइरहेको छ।
गभर्नर पौडेलले नेपाल एफएटीएफको ‘ग्रे लिष्ट’मा पर्नु चुनौतीपूर्ण भए पनि यसलाई मुलुकको सम्पत्ति शुद्धीकरण रोकथाम संयन्त्र सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। कानुनी छिद्रको दुरुपयोग गर्दै वित्तीय अपचलन बढ्दै गएको उल्लेख गर्दै उहाँले बैंकिङ, बीमा, पुँजीबजार, सहकारीलगायत सबै सरोकारवाला निकायको साझा प्रतिबद्धता अपरिहार्य रहेको बताए।
यस्ता अपराधका कारण स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने स्रोत नियन्त्रण र कारबाहीमा खर्चिनु पर्ने अवस्था सिर्जना हुने र यसले सामाजिक तथा आर्थिक असमानता झनै गहिरिने गभर्नर पौडेलको भनाइ छ।
नेपालपत्र संवाददाता