काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले हालै सार्वजनिक गरेको निर्वाचन प्रतिबद्धतामा सहकारी क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राख्दै बचतकर्ताको हित संरक्षणका लागि ठोस र स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीले सहकारी क्षेत्रमा देखिएको संकटप्रति गम्भीर ध्यान दिँदै बचत तथा ऋण सहकारीको प्रभावकारी सुपरिवेक्षण गर्ने र संकटबाट प्रभावित असल सहकारी संस्थालाई पुनर्जीवित गर्न विशेष पुनरुत्थान प्याकेज कार्यान्वयन गर्ने स्पष्ट घोषणा गरेको छ।
“बचत तथा ऋण सहकारीको प्रभावकारी सुपरिवेक्षणको व्यवस्था गरिनेछ र सहकारी क्षेत्रमा आएको संकटका कारण प्रभावित भई कार्य सञ्चालन सुचारु हुन नसकेका असल सहकारी संस्थाहरूको निम्ति बचतकर्ताको कम्तीमा पनि तोकिएको न्यूनतम साँवा फिर्ता पाउने प्रत्याभूति सहितको विशेष पुनरुत्थान प्याकेज कार्यान्वयनमा ल्याइनेछ।”
निर्वाचन प्रतिबद्धतामा सहकारीलाई केवल वित्तीय संस्थाका रूपमा होइन, सामूहिकता र आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ। कृषिदेखि उद्यमशीलतासम्म सहकारीको भूमिकालाई बलियो बनाउने नीति लिइने उल्लेख छ।
पार्टीका अनुसार, सहकारी क्षेत्रमा देखिएका बेथिति, कमजोर नियमन र विश्वासको संकट अन्त्य नगरी समग्र अर्थतन्त्र सुदृढ हुन सक्दैन। त्यसैले अबको चरणमा कडाइका साथ नियमन, पारदर्शिता र सुशासन सुनिश्चित गरिनेछ।
विशेषतः सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकको रकम सुरक्षित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै पार्टीले बचतकर्ताको विश्वास पुनःस्थापना नै पुनरुत्थान कार्यक्रमको केन्द्रमा रहने स्पष्ट पारेको छ।
पछिल्ला वर्षहरूमा समस्याग्रस्त बनेको सहकारी प्रणालीका कारण पीडित हजारौँ बचतकर्ताले आफ्ना समस्या समाधानका लागि कुन दलले कस्ताे कार्यक्रम ल्याउँछन् भनेर चासाेका साथ हेरिरहेका छन् ।
नेपालपत्र संवाददाता