बुधबार, भाद्र ३ गते २०८३

धान उत्पादनमा कमी, निर्माण तथा घरजग्गा काराेबार सुस्तिँदा जीडीपी घट्ने


माघ २८, २०८२ बुधबार
धान उत्पादनमा कमी, निर्माण तथा घरजग्गा काराेबार सुस्तिँदा जीडीपी घट्ने

काठमाण्डाै । चालु आर्थिक बर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) घट्ने देखिएको छ । अर्थ मन्त्रालयले आर्थिक बर्ष २०८२।८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनले कुल गार्हस्थ उत्पादन घट्ने देखाएको हो । यस आर्थिक बर्षको लागि ६ प्रतिशत कुल गार्हस्थ उत्पादन हुने अनुमान गरिएको भए पनि धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घर जग्गा कारोबारमा आएको गिरावट लगायतका कारणले कुल गार्हस्थ उत्पादन घट्ने अर्थ मन्त्रालयले जनाएको छ।

कुल गार्हस्थ उत्पादन घट्दा यस आर्थिक बर्षमा वृद्धिदर ३.५ प्रतिशतमा सीमित रहने अर्थ मन्त्रालयको प्रक्षेपण छ । गत आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ४.६ प्रतिशत रहेको थियो । चालु आवको प्रथम त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ।

गत आवको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित अनुमान छ। चालु आवको पहिलो त्रैमासमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा १.३६ प्रतिशतले विस्तार हुने अनुमान छ। चालु आवमा मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन भने बढ्ने अनुमान छ। गत आवमा धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत र नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढेको अनुमान छ।

चालु आ.व.को पहिलो त्रैमासमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा ५.४४ प्रतिशतले विस्तार हुने अनुमान छ। यस आ.व.को लागि विनियोजन गरिएको कुल खर्च प्रक्षेपित कुल गार्हस्थ उत्पादनको २४.७४ प्रतिशत रहेको छ । जसमध्ये  चालु खर्चतर्फ गरिएको विनियोजन १६.१ प्रतिशत र पूँजीगत खर्चतर्फ गरिएको विनियोजन ३.४ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी यस आ.व. मा कुल राजश्व परिचालन कुल गार्हस्थ उत्पादनको १९.१ प्रतिशत हुने प्रक्षेपण रहेको छ ।