काठमाण्डाै । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालमा सवा आठ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म आठ अर्ब १७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपाल प्रवेश गरेको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा छ अर्ब ४८ करोड रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएको थियो। यस आधारमा चालु वर्षको छ महिनामा प्रत्यक्ष वैदेशिक लगानी करिब दुई अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ।
यस अवधिमा ४७५ परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको राष्ट्र बैंकले जनाएको छ। यस्तै छ महिनामा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार अर्ब २९ करोड रुपैयाँ मात्र थियो।
यसैबीच, अब नेपालमा आउने सबै प्रकारका वैदेशिक लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत हुने व्यवस्था गरिएको छ। सरकारले हालै स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएपछि अब जति पनि रकमको वैदेशिक लगानी अटोमेटिक रुटबाटै स्वीकृत हुनेछ।यसअघि स्वचालित मार्गबाट अधिकतम ५० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वीकृत गर्ने व्यवस्था थियो। नयाँ व्यवस्थापछि वैदेशिक लगानी थप बढ्ने अपेक्षा गरिएको छ।
नेपालपत्र संवाददाता