नेपाल राष्ट्र बैंकले ४२ दिन अवधिका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमा बोलकबोल आव्हान गरेको छ। राष्ट्र बैंककाे मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार माघ २५ गते दिउँसो ३ बजेसम्म इबिडिङ प्रणालीमार्फत् बोलकबोल गर्न सकिनेछ।
बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ। यसमा न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोल गर्न सकिने व्यवस्था छ। बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिनेछ।
साँवा तथा ब्याजको भुक्तानी २०८२ चैत ८ गते गरिनेछ। निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
बैंक तथा वित्तीय संस्थामा आवश्यकता भन्दा बढी पैसा थुप्रिँदा ब्याजदर असन्तुलित हुने र मुद्रास्फीति बढ्ने जोखिम हुन्छ। त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले केही समयका लागि पैसा संकलन गरी बजारको तरलता सन्तुलनमा राख्न विभिन्न माैद्रिक उपकरणकाे प्रयाेग गर्ने गर्छ ।
नेपालपत्र संवाददाता