बुधबार, भाद्र ३ गते २०८३

सबै संस्थालाई समयमै प्राधिकरणमा दर्ता हुन अध्यक्ष शर्माको आग्रह


माघ २३, २०८२ शुक्रबार
सबै संस्थालाई समयमै प्राधिकरणमा दर्ता हुन अध्यक्ष शर्माको आग्रह

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरणमा प्राधिकरण केन्द्रीत भएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) कार्य समितिसँगको भेटघाट कार्यक्रममा अध्यक्ष शर्माले ऐनले दिएको समयसीमाभित्र सहकारी संस्थाहरुलाई दर्ता अभिलेखीकरण गरिसक्नु पर्ने कानुनी बाध्यता रहेकाले आफुहरु त्यसमा नै केन्द्रीत रहेको बताए । 

अध्यादेशमार्फत् संशोधन भएको सहकारी ऐनमा एक बर्षभित्र बचत ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्था प्राधिरकणमा दर्ता गरिसक्नु पर्ने व्यवस्था रहेको र सोही अनुसार प्राधिकरण अगाडि बढेको उनको भनाई छ । हाल सम्म ३ सय ६५ सहकारी संस्थाले प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि इजाजतपत्र लिइसकेका छन् भने २ हजार ४२८ सहकारीले सम्पूर्ण कागजात प्रविष्ट गरिसकेका छन् । त्यसैगरी ३ हजार ५ सय सहकारी संस्थाहरु प्राधिरकणको दर्ता अभिलेखीकरणका लागि सफ्टवेयर मार्फत् लगइन गरेका छन् ।  संशोधित ऐनले चैत्र मध्यसम्ममा बचत ऋणको मुख्य करोबार गर्ने सहकारी संस्था प्राधिरकणमा दर्ता हुनेपर्ने व्यवस्था गरेकाले सबै संस्थालाई समयमा नै आवद्ध हुन उनको आग्रह छ । प्राधिकरणले दोश्रो पटक फागुन ११ गतेसम्मका लागि दर्ता अभिलेखीकरणको समय थप गरेको छ । बचत ऋणको कारोबार गर्न प्राधिकरणबाट अनिवार्य इजाजत लिनुपर्ने भन्दै उनले समयभित्र दर्ता नगर्ने सहकारीहरुले बचत ऋणको कारोबार गर्न नपाउने जानकारी दिए । 

प्राधिकरणले समयमा इजाजत नलिने सहकारी संस्थाहरुको हकमा रोक्का तथा दृष्टिबन्धक गर्न , कर चुक्ता लिन, कर्जा सूचना केन्द्रको सदस्य बन्न र वार्षिक बाह्य लेखापरीक्षण गर्न नपाउने गरी ती निकायहरुसँग सम्झौता गर्न लागेको समेत बताए । उनले पहिलो चरणमा सहकारी संस्थाहरुलाई दर्ता अभिलेखीकरण गर्ने र त्यसपछि ती संंस्थाहरुको नियमनको कामलाई अगाडि बढाउने जनाए । बचत ऋणको कारोबारलाई व्यवस्थित बनान प्राधिकरण नै अन्तिम निकाय भएको उनको भनाई छ । ट्रयाक बाहिर हिँडेका सहकारीहरुलाई सही ट्रयाकमा ल्याउन केही समय लाग्ने उनको बुझाई छ । 

प्राधिकरण सहकारी पत्रकार समाजसँग समेत सहकार्य गरेर अगाडि बढ्न तयार रहेको सो अवसरमा अध्यक्ष शर्माले जनाए । उनले सीजेएनसँगको सहकार्यमा समसामायिक विषयमा अन्तरक्रिया तथा छलफलमा साथै बचत ऋणको अभियानलाइ व्यवस्थित गर्ने विषयमा बहस तथा छलफल गरेर अगाडि बढने उल्लेख गरे । सो अवसरमा सहकारी पत्रकार समाजका अध्यक्ष अर्जुन खतिवडाले सीजेएनमा आवद्ध सदस्यहरुको क्षमता विकासका साथै सहकारी क्षेत्रका स्टेक होल्डरहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएको बताए । अध्यक्ष खतिवडाले सीजेएन प्राधिकरणसँग समेत सहकार्य गरेर जान तयार रहेको भन्दै त्यसका लागि तत्पर रहेको उल्लेख गरे । सो अवसरमा प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाईंको समेत उपस्थित रहेको थियो । भेटघाट कार्यक्रममा सीजेएनका सचिव माधव खड्का, सहसचिव हिरा बस्नेत, कोषाध्यक्ष प्रवीण राउत र सदस्य इश्वर ढुङ्गेलको उपस्थिति रहेको थियो ।