काठमाडौँ । नेपाल राष्ट्र बैंकले नाबालकको नाममा बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था रहेको स्पष्ट गर्दै सानै उमेरदेखि बचत र वित्तीय चेतना विकास गर्न आग्रह गरेको छ।
वित्तीय सचेतनाका लागि सन्देश जारी गर्दै राष्ट्र बैंकले अनुसार अभिभावक वा संरक्षकले आफ्ना नाबालक बालबालिकाको नाममा जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रका आधारमा कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता खोल्न सक्ने जनाएकाे। यस्तो खाता सञ्चालनको अधिकार नाबालक कानुनी रूपमा बालिग नहुञ्जेलसम्म अभिभावक वा संरक्षककै जिम्मेवारीमा रहने व्यवस्था छ।
नाबालक बालिग भएपछि भने सम्बन्धित बैंक वा वित्तीय संस्थामा गई आवश्यक विवरण अद्यावधिक र आधिकारिक हस्ताक्षर प्रदान गरेपछि खाता सञ्चालनको अधिकार नाबालक स्वयंमा हस्तान्तरण हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंक खाता खोल्न उमेरको सीमा नतोकिने स्पष्ट गर्दै सानै उमेरदेखि बालबालिकालाई बैंकिङ प्रणालीसँग परिचित गराउन सके बचत गर्ने बानीको विकास र वित्तीय चेतनामा वृद्धि हुने उल्लेख गरेको छ।
केन्द्रीय बैंकका अनुसार नाबालकका नाममा बैंक खाता खोल्नु सुरक्षित बचत र उज्ज्वल भविष्यतर्फको पहिलो पाइला हो। वित्तीय सचेतना अभिवृद्धि तथा ग्राहक संरक्षणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने पनि जनाएको छ।
खाता प्रयाेग गर्दै जाँदा बालबालिकामा क्रमशः हुँदै जान्छ वित्तीय चेतना अभिवृद्धि
- पैसासँग ‘औपचारिक सम्बन्ध’ सुरु हुन्छः
नाबालकको नाममा बैंक खाता खुलेपछि बालबालिकाले पैसा घरको दराजमा होइन, बैंकमा राखिन्छ भन्ने बुझ्न थाल्छन् । बचतको अवधारणा भौतिक रूपमै अनुभव गर्न शुरू गर्छन् र यसले पैसाप्रति जिम्मेवारीको भावना विकास गर्छ।
- आम्दानी–बचत–खर्चको भिन्नता बुझ्नु
खातामा रकम जम्मा गर्ने, निकाल्ने र बाँकी रकम जस्ता शद्ब र व्यवहारबारे जानकारी बढ्दै जान्छ । सबै पैसा खर्च गर्न हुँदैन, केही बचत गर्नुपर्छ भन्ने सिकाइ पाउँछन्।
- लक्ष्यमा आधारित बचतको अभ्यास
अभिभावकले विभिन्न अवसर जस्तै “यो पैसा साइकल किन्न,” “यो किताबका लागि,” भनेर खातामा पैसा राख्न सिकाउँदा बालबालिकाले लक्ष्य तय गर्ने, निश्चित अवधिसम्म कुर्ने र खर्च टार्ने जस्ता आर्थिक अनुशासन सिक्छन्।
- ब्याज र समयको मूल्य
खातामा रहेको रकम समयसँगै बढेको र ब्याज जोडिएको देख्दा बालबालिकाले समय र पैसाको सम्बन्ध व्यवहारमै बुझ्न थाल्छन्।
- डिजिटल तथा औपचारिक वित्तीय प्रणालीसँग परिचय
नाबालक खाता मार्फत बैंककाे शाखा, पासबुक, स्टेटमेन्ट, एटिएम/मोबाइल बैंकिङ (अभिभावकमार्फत) लगायतका वित्तीय प्रणालीका उपकरणसँगकाे लगाव बढ्ने र अनौपचारिकभन्दा औपचारिक वित्तीय प्रणाली प्रति अभ्यस्त हुने वाताबरण बन्छ।
नेपालपत्र संवाददाता