काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ५५ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंक ४५ करोड ९७ लाख रुपैयाँभन्दा बढी नोक्सानमा रहेको थियो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत नाफा–नोक्सान हिसाब विवरण अनुसार बैंकको ब्याज आम्दानी तथा ब्याज खर्च दुवै घटेको छ । खुद ब्याज, शुल्क र कमिशन आम्दानी पनि अघिल्लो त्रैमासको तुलनामा संकुचित छ ।
अन्य सञ्चालन आम्दानीमा भने सुधार आएको देखिन्छ । बैंक यस वर्ष नाफामा फर्किनुमा यही अन्य सञ्चालन आम्दानी निर्णायक देखिन्छ। यदि यो आम्दानी नआएको भए बैंकको सञ्चालन नतिजा अझै कमजोर रहने सम्भावना थियो। यस अर्थमा, हालको नाफा कोर ब्यांकिङ आम्दानी नभइ, अतिरिक्त सञ्चालन स्रोतमा आधारित रहेको छ । ब्याज खर्च र प्रशासनिक खर्च तुलनात्मक रूपमा नियन्त्रणमा रहेकाे देखिन्छ। बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ०.१९ रुपैयाँ पुगेको छ, जुन गत वर्ष भने ऋणात्मक अवस्थामा थियो।
बैंककाे शेयरपुँजी २ अर्ब ९० कराेड ४४ लाख छ भने जगेडा काेषमा ४ अर्ब ३० कराेड १९ लाख रहेको छ। बैंकले सहकारी संस्थाहरूबाट ४८ अर्ब ५१ कराेड ६७ लाख निक्षेप संकलन गरेकाे छ भने ११ अर्ब ९८ कराेड २६ लाख रकम संस्थाहरूलाइ कर्जा लगानी गरेकाे छ । बैंककाे कुल सम्पत्ति ५२ अर्ब ३ कराेड ११ लाख रहेकाे छ । बैंकमा ३१ अर्ब ३४ कराेड माथि अर्थात् ६४.६० प्रतिशत रकम तरलता रहेको छ ।
बैंकले दोश्रो त्रैमासमा गरेको नाफा रकम सानो भए पनि साढे चार करोडको घाटाबाट नाफामा फर्किनु बैंकका ‘टर्नअराउण्ड पाेइन्ट’ हुनसक्ने देखिन्छ । यद्यपि वासलातमा देखिएको भारी ऋणात्मक सञ्चित मुनाफाले विगतका ठूलो घाटा समायोजन हुन नसकेको संकेत गर्छ, जसले बैंकको दीर्घकालीन वित्तीय स्वास्थ्यमा चुनौती कायमै रहेको देखाउँछ भने भविष्यमा समेत लाभांश वितरणकाे अपेक्षा गर्न सक्ने देखिँदैन । जसले गर्दा नियमनकारी निकायको थप निगरानी सतर्कता र पूँजी सुदृढीकरणमा दवाव कायम रहनेछ।
नेपालपत्र संवाददाता