शनिबार, आश्विन १७ गते २०८३

खाद्यान्नमा उल्लेख्य मुल्य वृद्धि, खानेतेलमा मात्र ३१ प्रतिशतले बढ्यो

कार्तिक ३०, २०७८ मंगलबार
खाद्यान्नमा उल्लेख्य मुल्य वृद्धि, खानेतेलमा मात्र ३१ प्रतिशतले बढ्यो

 

चालु आर्थिक वर्षको असोजमसान्तमा खाद्यान्नको मुल्यमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो ३ महिनामा घ्यू तथा तेलमा ३१.६८ प्रतिशत, माछा तथा मासुमा ११.९३ प्रतिशत, दाल तथा गेडागुडीमा १०.७१, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ ९.६३ प्रतिशतले मुल्य बढेको हो । नेपाल राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै यस्तो विवरण दिएको हो । 

२०७८ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।

यस अवधिमा काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ असोजमा यी क्षेत्रहरुमा क्रमशः ३.३५ प्रतिशत, ४.४६ प्रतिशत, ३.०३ प्रतिशत र ४.३९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २.११ प्रतिशत, ४.५५ प्रतिशत र ५.८६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.३२ प्रतिशत रहेको छ ।

त्यसैगरी वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.२४ प्रतिशत र सन्२०२१ अक्टोबरमा भारतमा ४.४८ प्रतिशत रहेको छ ।